पाकिस्तानमा पूर्वप्रधानमन्त्री खानको रिहाइ माग गर्दै हजारौंको ज...
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार नागढुंगा-सिस्ने खोला सुरुङ मार्गको शिलान्यास गर्नुभएको छ ।
सडक पूर्वाधारमा महत्वपूर्ण संरचना मानिएको सवारी साधन आवतजावतका लागि प्रयोग गरिने नेपालकै पहिलो सुरुङमार्गको चन्द्रागिरि नगरपालिका १ को टोटेपाखामा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले शिलान्यास गर्नुभएको हो । उहाँले शिलापत्रको अनावरण पनि गर्नुभयो ।
सुरुङ मार्गका लागि २२ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले ० दशमलव ०१ प्रतिशत ब्याजदरमा १६ अर्ब सहुलियत ऋण दिनेछ भने ६ अर्ब रुपैयाँ नेपाल सरकारले आन्तरिक स्रोतबाट जुटाउने छ ।
प्रवेश मार्गसहित ५ दशमलव ५६ किमी सुरुङ मार्ग निर्माणले नेपालको पूर्वाधार विकासमा महत्वपूर्ण योगदान दिने विश्वास गरिएको नागढुंगा सुरुङ मार्ग निर्माण आयोजना निर्देशक श्यामप्रसाद खरेलले बताउनुभयो ।
झण्डै ६ अर्ब रुपैयाँ स्थानीय पीडितलाई मुआब्जा वितरणमै खर्च हुनेछ । चन्द्रागिरि नगरपालिकाको वडा नम्बर १, ३ र ५ का पीडितलाई मुआब्जा वितरण भैरहेको छ । अहिलेसम्म मुआब्जा वितरणको ८५ प्रतिशत काम सम्पन्न भएको छ । चार वर्षभित्र सुरुङ मार्ग निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
यसअघि जलविद्युत् र खानेपानी आयोजनाका लागि सुरुङ निर्माण भए पनि यातायात नै सञ्चालन हुने गरी पहिलो पटक निर्माण गर्न लागिएको सुरुङ मार्गमा दुइटा साना ‘फ्लाइ ओभर’समेत निर्माण गरिने आयोजना निर्देशक खरेलले बताउनुभयो । सुरुङ मार्गकै मुखमा र सतुङ्गलमा ‘फ्लाइ ओभर’ बनाउन लागिएको हो । सडक पूर्वाधारमा यहाँ निर्माण हुन लागेको ‘फ्लाइ ओभर’ पनि नेपालकै पहिलो हो ।
सुरुङ मार्ग निर्माणका लागि यही असोज ६ गते जापानी हाज्मा आङदो कर्पोरेशनसँग सम्झौता भएको थियो । सुरुङ मार्गलाई जोड्ने तीन किलोमिटर प्रवेश मार्गसमेत निर्माण गरिने भएको छ । यही परियोजनाअन्तर्गत स्थानीय उत्पादन सङ्कलन केन्द्र (सर्भिस सेन्टर) निर्माण हुने आयोजनाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।