जल र सूर्य आराधनाको पर्व छठ

 कात्तिक १६, २०७६ शनिबार ७:८:४१ | रासस
unn.prixa.net

वीरगञ्जकाे घडिअर्वा पाेखरी

काठमाण्डौ – प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठी तिथिका दिन बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइने छठ पर्व आज बेलुकी मनाइँदैछ ।

छठ पर्वको तेस्रो अर्थात् मुख्य दिन शनिबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व बिहीबारदेखि सुरु भएको हो ।

ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथनबमोजिम त्यही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । 

सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुवात् भएको विश्वास गरिन्छ ।

संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । तिनको शक्तिबिना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्य किरणको चिकित्सामाथि कैयाँै चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ । सूर्यको किरणवाट कैयौँ असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको छ ।

साम्व पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आराधनाको फलस्वरूप रोग मुक्त हुन गएको भन्ने चर्चा छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ ।

व्रतविधि

कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर (खरना¬) षष्ठी मातालाई चढाई अलिकति व्रतालुले प्रसादस्वरूप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ ।

यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने विधि विधान रहेको रामशरण यादवले बताउनुभयो ।

‘षष्ठीका दिन रातभर जागा बसी कार्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ’, उहाँले भन्नुभयो । कार्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आरधना गरी अर्घ्य दिएमा चर्म रोग लाग्दैन भन्ने धार्मिक विश्वाससमेत छ ।

२०४६ सालअघि तराईको सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रिय स्वरूप ग्रहण गरेको छ । २०४६ सालदेखि नै सरकारले यो पर्वका अवसरमा राज्यभर सार्वजनिक बिदा दिने गरेको छ ।

छठ पर्वका लागि राजधानीको गुह्येश्वरी, नागपोखरी, गहनापोखरी, कमलपोखरीलगायत वाग्मती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा सजावट गरिएको छ । शनिबार बेलुकी गुह्येश्वरी र कमलपोखरीमा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि छठ पूजा गर्नुहुने कार्यक्रम छ ।

त्यस्तै छठ पर्वका अवसरमा जनकपुरकाे गंगासागर, वीरगञ्जकाे घडीअर्वा पाेखरीलगायतका तराईका विभिन्न पाेखरी र नदी किनार पनि सजाइएकाे छ ।

छठका व्रतालुले कार्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् । जलाशय वा नदीमा जलसहित सूर्यको पूजा आराधना गरी छठ मनाउने परम्परा सनातनदेखि नै चलेको शास्त्रीय प्रमाण रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले बताउनुभयो । 

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया