बाँदर धपाउन पड्काएकाे भरुवा बन्दुकले लियाे साथीकाे ज्यान

 कात्तिक १८, २०७६ सोमबार १७:५९:२७ | शिव ढुंगाना
unn.prixa.net

प्रतिकात्मक तस्बिर

ओखलढुंगा – बाँदर धपाउन पड्काएको भरुवा बन्दुकको छर्रा लागेर एक युवकको ज्यान गएको छ । 

मोलुङ गाउँपालिका ३ को थुम्किमा बाँदर धपाउन पड्काएको भरुवा बन्दुकको छर्राले लागेर १७ वर्षीय लालमान तामाङको ज्यान गएको हो । बन्दुक छर्राले लागेर गम्भीर घाइते हुनुभएका तामाङलाई उपचारका लागि काठमाण्डौ लैजाँदै गर्दा सिन्धुलीको खुर्कोटमा ज्यान गएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) राजिव श्रेष्ठका अनुसार बाँदर धपाउन गएका समूहमध्येका एक २१ वर्षीय चित्रबहादुर सुनुवारलाई प्रहरीले नियन्त्रण लिएको छ । उनीसँगै गएका २२ वर्षीय सबिन सुनुवार,  १७ वर्षीय पदम सुनुवार, १६ वर्षीय सुन्दर तामाङ र २२ वर्षीय रुकमान तामाङ भने फरार छन् । 

प्रहरीले दुई थान भरुवा बन्दुकसमेत नियन्त्रणमा लिएको श्रेष्ठले जानकारी दिनुभयो । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ । 

आइतबार घर नजिकैको खेतमा बाँदर धपाउन लालमानसँगै एक समूह भरुवा बन्दुक लिएर गएको थिए । उनीहरुमध्ये एक जनाले बोकेको बन्दुक अचानक पड्किएर तामाङको देब्रे तिघ्रामा लागेपछि उहाँ गम्भीर घाइते हुनुभएको थियो ।  

घटनापछि प्रहरीलाई खबर नै नगरी मृतकको शवलाई घरतर्फ लैजाँदैै गरेको सूचनाका आधारमा प्रहरीले सोमबार दिउँसो सिद्धिचरण नगरपालिका ११ को रमाइलो डाँडाबाट शव नियन्त्रणमा लिइ पोष्टमार्टमका लागि जिल्ला अस्पताल रुम्जाटार पठाएको छ । 

अन्तिम अपडेट: फागुन २८, २०८०

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया