मित्रता आफ्नो ठाउँमा छ, सीमा एक इञ्च पनि मिच्न दिइँदैन: परराष्ट्रमन्त्री ज्ञवाली

 कात्तिक २१, २०७६ बिहिबार २१:०:५९ | जयराज अवस्थी
unn.prixa.net

बैतडी - परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कालापानी नेपालकै रहेको भन्दै सरकारको गम्भीर ध्यानकर्षण भएको बताउनुभएकाे छ ।

भारतीय नक्सामा नेपालको भूमि राखिएको भन्ने कुरा सञ्चारमाध्यमबाटै आफूले थाहा पाएको बताउँदै उहाँले भारतबाट आधिकारिक रुपमा कुनै जानकारी नआएको स्पष्ट पार्नुभयो । 

नक्सामा नेपाली भूमि राखिएको भनिएकाेमा कुटनीतिक पहल भइरहेको विज्ञप्ति पनि निकालिसकेकाे उहाँले बताउनुभयो । पञ्चेश्वर गाउँपालिकामा सुरु भएको राष्ट्रनिर्माण महामहोत्सवको उद्घाटन कार्यक्रममा उहाँले मित्रता आफ्नो ठाउँमा भए पनि सीमा भने एक इञ्च पनि मिच्न नदिइने स्पष्ट पार्नुभयो ।

यस्तै वर्षाैँदेखि कुराकानी भइरहेको भए पनि अगाडि बढ्न नसकेको पञ्चेश्वर परियोजनाको काम पनि अगाडि बढाउने सहमति भइरहेको पनि बताउनुभयो ।

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा पक्की पुल निर्माणको लागि भारत सहमतिनजिक रहेको पनि उहाँले जानकारी गराउनुभयो । बैतडीमा पुल निर्माणको माग गर्दै ३७ दिनसम्म रिले अनसनसमेत बसेका कुरा थाहा भएको बताउँदै उहाँले भारत सहमति गर्न तयार रहेको पनि जानकारी गराउनुभयो।

भारतका विदेशमन्त्री एस जयशंकरसँग प्रत्यक्ष भेटघाट गरिसकेकाे र आफूहरु कुटनीतिक पहलमा रहेको उहाँले बताउनुभयाे । 

एक फरक प्रसंगमा परराष्ट्रमन्त्री ज्ञवालीले राष्ट्रनिर्माणका लागि सबैले एक ढिक्का भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो। यसैबीच पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले परराष्ट्रमन्त्री ज्ञवालीलाई ७ बुँदे ज्ञापनपत्र समेत बुझाउनुभएको छ ।  

ज्ञापनपत्र  पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको काम अगाडि बढाउनुपर्ने, पाटन–पञ्चेश्वर सडक, पञ्चेश्वर बाँधस्थलसम्म कालोपत्रे गर्नुपर्ने, पञ्चेश्वरमा रहेकाे महाकाली नदीमा झोलुंगे पुल निर्माण गर्नुपर्ने, छोटी भन्सार कार्यालय स्थापना हुनुपर्ने लगायतका बुँदाहरु रहेका छन् ।  

महामहोत्सव उद्घाटनपछि परराष्ट्रमन्त्री ज्ञवालीले पञ्चेश्वर परियोजनाको बाँधस्थलको पनि अनुगमन गर्नुभयाे।

अन्तिम अपडेट: चैत १२, २०८०

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया