पर्यटकीय गन्तव्य बन्दै पाँचथरकाे लब्रेकुटी (फाेटाेसहित)

 कात्तिक २७, २०७६ बुधबार १२:३९:५५ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर - १६ औँ राष्ट्रिय विभूति तथा समाज सुधारक फाल्गुनन्द लिङदेनको कर्मभूमि लब्रेकुटी धार्मिक पर्यटकीय गन्तव्य बन्दै गएको छ ।

फिदिम नगरपालिका–५ मा रहेकाे यो क्षेत्रलाई धार्मिक पर्यटकीय स्थल बनाउन स्थानीय तहदेखि प्रदेश सरकारको नजर परेसँगै पर्यटकीय गन्तव्य बन्दै गएको हो ।

पछिल्लो समय यस क्षेत्रमा पर्यटक लक्षित पूर्वाधार निर्माणसँगै विभिन्न माध्यमबाट प्रचार–प्रसार भएपछि यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा वृदि भएको लब्रेकुटी मन्दिरका पुजारी ध्रुब तुम्बापाले बताउनुभयो ।

भर्खरै मात्र यस क्षेत्रमा प्रदेश–१ सरकारको ८० लाख रुपैयाँको लागतमा धार्मिक प्रवचन स्थलका साथै सवारी पार्किङ स्थल निर्माण गरिएको छ ।

समुद्री सतहबाट २४ सय फिट उचाइमा रहेको लब्रेकुटीबाट देखिने मनोरम हिमशृङखलाको दृष्यले जो कोहीलाई लोभ्याउँछ । विश्वको सर्वाेच्च शिखर सगरमाथा साथै कुम्भकर्ण हिमाल तथा अन्य दर्जनौँ हिमशृङखलाहरु यहाँबाट सहजै दृश्यावलोकन गर्न सकिन्छ ।

यहाँबाट ताप्लेजुङ, इलाम, तेह्रथुम, धनकुटा र संखुवासभाका विभिन्न मनाेरम दृश्य नियाल्न सकिन्छ । मौसम सफा भएका बेला तराईका सुन्दर फाँटसमेत यहाँबाट अवलाेकन गर्न सकिन्छ ।

यस ठाउँमा नेपालसँगै भारतको सिक्किम, दार्जिलिङ, भुटान र बर्माका भक्तजन तथा पर्यटकहरु आउने गर्दछन् । किराँत समाज सुधारक महागुरु फाल्गुनन्द लिङदेनको कर्मभूमिको रुपमा परिचित यो क्षेत्र फाल्गुनन्दले आफ्नो जीवनकालमा पहिलोपटक मन्दिर निर्माण गरी जप, ध्यान गरेको पवित्र स्थलको रुपमा समेत परिचित छ ।

लब्रेकुटी किरात धर्मावलम्बीहरुको धार्मिक आस्थाको केन्द्र हो । महागुरुसँग सम्बन्धित वस्तुहरुको अध्ययन अवलोकनका लागि महत्वपूर्ण मानिने यो क्षेत्र किराँत साम्जिक मुन्धुम साथै धर्म, दर्शन र सिरिजंगा लीपिको पठन–पाठन हुने पाठशाला पनि रहेको किराँत साङसेन वरक चुम्लुङ माङहिम समितिका सचिव सुवास तुम्बापाेले बताउनुभयो ।

 

सरकारले निकालेकाे देशभरका १ सय नयाँ पर्यटकीय गन्तव्यको सूचीमा सूचीकृत लब्रेकुटी जिल्लाको एकमात्र पर्यटकीय गन्तव्यस्थल हो । सरकारले एक सय नयाँ पर्यटकीय गन्तव्यस्थलको रुपमा सूचीकृत गरे पनि यससँग सम्बन्धित अन्य गतिविधि भने अहिलेसम्म अघि नबढाएको सचिव तुम्बापोको भनाइ छ ।

किराँत समुदायको प्रमुख तीर्थस्थल फक्ताङलुङ (कुम्भकर्ण) पारुम्फक्क–मारुम्फक्क पुग्न नसक्नेहरुले यहि आएर सेवा गरे त्यहाँ पुगेर सेवा गरे सरह हुने जनविश्वास छ ।

यसरी पुगिन्छ लब्रेकुटी

मेची राजमार्गको राँके– फिदिम खण्ड अन्तर्गत फिदिम नगरपालिका–३, मा रहेकाे कान्छी दोकानमा गाडिबाट ओर्लेर त्यहाँबाट झण्डै आधा घण्टा पैदल हिँडेपछि लब्रेकुटि पुगिन्छ ।

यस क्षेत्रमा होटल लजहरुको सुविधा नभएकाले आवश्यक खानेकुरा भने नजिकै रहेको कान्छी दोकानबाट नै लिएर जानु पर्दछ । बस्नका लागि भने नजिकैको कान्छी दोकान, पौवाभञ्ज्याङ, सुम्निमा चोकलगायतका बजारमा लजहरुको सुविधा रहेको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया