उपचुनावको हरहिसाब : सबै दलका रणनीति र अनुमान फेल !

 मंसिर १६, २०७६ सोमबार १२:५४:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

उपचुनावको नतिजाले राष्ट्रिय राजनीति र संसदीय समीकरणमा कुनै असर नपर्ने भए पनि सबैजसो दलहरुले यसलाई सुरुदेखि नै प्रतिष्ठाको विषय बनाएका थिए । उनीहरुले यसलाई जनमत परीक्षण गर्ने मौका परीक्षाजस्तो ठानेका थिए ।

यसैअनुसार दलहरुले प्रचारप्रसारलाई भड्किलो बनाए । केन्द्रीय नेताहरु वडाध्यक्षको उम्मेदवारलाई समेत भोट माग्न पुगे । तर प्रतिनिधिसभा, प्रदेशसभा र पालिकाका विभिन्न ५२ स्थानका लागि भएको उपचुनावको नतिजा कुनै पनि दललाई सोचेजस्तो भएन । पहिले पालिकामा एक्लाएक्लै लडेका तत्कालीन एमाले र माओवादी अहिले एक भएर लड्दा पनि त्यसअनुसारको परिणाम आएन ।

सरकारले जनभावनाअनुसार काम नगरेकाले उपचुनावको परिणाम आफूअनुकूल हुने प्रमुख प्रतिपक्षी कांग्रेसको अनुमान पनि फेल खायो । मुख्य दुई दल नेकपा र कांग्रेसबीच केही ठाउँमा साटफेर भए पनि समग्रमा परिणाम यसअघिको जस्तै देखिएको छ ।

प्रतिनिधिसभातर्फ उपचुनाव भएको एक मात्र कास्की २ मा नेकपाले जित दोहोर्‍याएकाे छ । यसअघि रवीन्द्र अधिकारीले जितेको यो ठाउँमा यसपटक विद्या भट्टराई निर्वाचित हुनुभएको छ ।

प्रदेशसभाअन्तर्गत भक्तपुर १ (क) मा नेकपाले आफ्नो सिट गुमाएको छ । त्यहाँ कांग्रेसका उम्मेदवार विजयी भएका छन् । प्रदेशसभातर्फ भने दाङमा नेकपाले र बागलुङमा राष्ट्रिय जनमोर्चाले जित दोहोर्‍याएका छन् ।

उपचुनाव भएको एउट मात्रै उपमहानगरपालिकामा कांग्रेस विजयी भएको छ । यसअघि यहाँ एमालेका उम्मेदवार विजयी भएका थिए । यसपटक तत्कालीन एमाले र माओवादी एक भएर बनेको पार्टी कांग्रेससँग पराजित भएको छ । भक्तपुरको प्रदेशसभामा जस्तै धरानको मेयर पदमा पनि नेकपालाई धक्का लागेको छ ।

एक प्रदेशसभा सदस्य र एक उपमहानरपालिकाको मेयर गुमाएको नेकपाले दुई गाउँपालिकाको अध्यक्ष र एक उपाध्यक्षमा भने संख्या थपेको छ । उपचुनाव भएको तीन गाउँपालिकाको अध्यक्षमध्ये संखुवासभाको मकालुमा नेकपाले जित दोहोर्‍याएकाे छ । यसअघि कांग्रेसले जितेको पाँचथरको फाल्गुनन्द र राजपाले जितेको महोत्तरीको पिपरामा पनि नेकपा विजयी भएको छ ।

एउटा गाउँपालिकाको उपाध्यक्षमा पनि नेकपा विजयी भएको छ । यसअघि कांग्रेसले जितेको हुम्लाको खार्पुनाथ गाउँपालिकामा नेकपा विजयी भएको हो । उपचुनाव भएको ४३ वडामध्ये कांग्रेस र नेकपाबीच केही स्थानमा साटफेर भएको छ । यसअघि कांग्रेसले जितेका ७ वडामा नेकपा र यसअघि नेकपाले जितेका ६ वडामा कांग्रेस विजयी भएको छ ।

प्रदेशसभामा जित दोहोर्याउन सफल राष्ट्रिय जनमोर्चाले यसअघि जितेको एउटा वडा चाहिँ गुमाएको छ । समाजवादीले यसअघिको दुईवटा वडा बढाएर चार पुर्याएको छ भने एउटा गाउँपालिका गुमाएको राजपाले दुईवटा वडामा जित दोहोर्याउँदै एउटा वडा थपेको छ ।

समग्रमा नेकपा एक प्रतिनिधिसभा, एक प्रदेशसभा, तीन गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र २४ वडा गरी ३० स्थानमा विजयी भएको छ । यस्तै कांग्रेस एक प्रदेशसभा, एक उपमहानगरपालिका र ११ वडा गरी १३ ठाउँमा विजयी भएको छ । जनमोर्चाले एक प्रदेशसभा, समाजवादीले चार वडा र राजपाले तीन वडा जितेका छन् ।

साझा र विकेकशील पार्टीले चर्चाअनुसार कहीँ पनि उल्लेखनीय मत ल्याउन सकेनन् । पहिलोपटक चुनावमा भाग लिएको सिके राउतको पार्टीको मत पनि नगण्य आयो ।

चुनावी नतिजाले दलहरुलाई आत्मसमीक्षा गर्ने अवसर भने दिएको छ । दुई तिहाईको सरकार हुँदा पनि सोचेजस्तो परिणाम नआएपछि सत्तारुढ नेकपालाई नागरिकको भावनाअनुसार काम गरेर देखाउनुपर्ने चुनौती थपिएको छ ।

सँगै पार्टी एकीकरणको भावना कार्यकर्तास्तरसम्म पुग्न नसकेको उपचुनावको परिणामले प्रष्ट देखाएको छ । प्रदेश र वडाको नतिजा हेर्दा अझै पनि कार्यकर्तामा एमाले र माओवादीअनुसारको गुटगत स्वार्थले नछोडेको जस्तो देखिन्छ ।

प्रमुख प्रतिपक्षी कांग्रेसलाई पनि सरकारको विरोध गरेर मात्रै जनमत आफ्नो पक्षमा पार्न सकिंदो रहेनछ भन्ने पाठ मिलेको छ । 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया