काठमाडौंमा दुई ठूला स्मार्ट पार्किङ बन्ने, जरिवाना शुल्क १५ सय पुर्‍याईँदै

 साउन ३, २०७५ बिहीबार १२:१:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – छोराको उपचारका लागि वीर अस्पताल पुगेकी बाफलकी माया केसीले आफ्नो स्कुटर अस्पतालको छेवैमा पार्किङ गर्नुभयो । जहाँ, अरु पनि धेरै मोटरसाइकल र स्कुटर पार्क गरिएको थियो । 

छोराको नाम दर्ता गरेर जाँचका लागि पालो कुर्दा दिउँसोको १२ बजिसकेको थियो । तर घर जान लाग्दा पार्किङ गरिएको ठाउँमा उहाँको स्कुटर थिएन । नजिकका पसलेसँग सोधखोज गरेपछि पो थाहा पाउनु भयो, आफूले पर्किङ निषेधित क्षेत्रमा स्कुटर राखेको कुरा । अनि दिउँसोको टन्टलापुर घाममा बिरामी छोरालाई बोकेर दौडिनुभयो महानगरीय ट्राफिक प्रहरी महाशाखामा । 

यस्तै न्यूरोडको एउटा पसलमा समान किन्न छिरेका कोटेश्वरका भरत खत्रीको मोटरसाइकल त झन् आँखै अगाडिबाट नगर प्रहरीले ट्रकमा हालेर महाशाखा पुर्‍याए । मोटरसाइकल पार्किङ गर्ने ठाउँ नभएको भन्दै आक्रोशमा आएका भरत पनि अन्ततः महाशाखामै जानु पर्‍यो । 

यो नियती काठमाडौँमा दैनिक ६०/७० जनाले भोग्छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता सुरेन्द्रप्रसाद मैनालीले पार्किङस्थल भनेर छुट्याइएका ठाउँबाहेक कतै पनि सवारी पार्किङ गर्न नपाइने, तर सडकमै धेरै सवारी पार्किङ भैरहेको बताउनुभयो । 

यसरी महाशाखा पुर्‍याइएका मोटरसाइकल र स्कुटर धनीले एकहजार रुपैयाँ जरिवाना तिर्नु पर्ने हुन्छ । खुल्लामञ्च, एयरपोर्ट, कलंकी, दरबारमार्ग र अस्पताल आएका सेवाग्राहीका लागि ट्रामा सेन्टर लगायतका केही सीमित अस्पताल, संघसंस्थाका बाहेक अन्य कही कतै पनि पार्किङको सुविधा छैन । जसका कारण कार्यालय समयमा काठमाडौंका सडक छेउमा सवारी साधनको चाप हुन्छ ।

काठमाडौंका विभिन्न ४० स्थानमा बोर्ड राखिएको, ७० स्थानमा ट्याक्सी पार्किङ थपिएको र अन्य स्थानमा पनि पार्किङका लागि बोर्ड राख्ने तयारी रहेको महाशाखले दावी गरे पनि पार्किङ स्थलको बारेमा जानकारी नहुँदा पार्किङ निषेधित क्षेत्रमै सवारी साधन राख्नु पर्ने बाध्यता रहेको कीर्तिपुरका सुनिल नेपालीको भनाई छ ।

अहिले निषेधित स्थलमा पार्किङ गरे वापत १ हजार रुपैयाँ जरिवाना शुल्क छ । तर यही आर्थिक वर्ष मै १५ सय रुपैयाँ पुर्याउने तयारी अन्तिम चरणमा पुगेको महाशाखाको भनाई छ । न्युरोड र दरबारमार्गमा स्मार्ट पार्किङ बनाउनका लागि अनुमति दिन महानगरका सार्वजनिक निजी साझेदारी (पीपीपी) एकाइ भने नगरसभा कुरिरहेको छ । मोवाइल एपको सहयोगमा आफूले चाहेको समयमा ती स्मार्ट पार्किङ खाली छ छैन थाहा पाउन सकिनन्छ । छ तलाको पार्किङ स्थलमा दुई र चारपांग्रे गरी करिब ४ सय सवारी साधन राख्न मिल्ने छ ।

प्रस्तुतिः बिशाल कार्की, उज्यालो

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया