अपाङ्गता भएका व्यक्तिलाई सार्वजनिक सेवामा विभेद

 मंसिर १८, २०७६ बुधबार २०:३३:४८ | शिव ढुंगाना
unn.prixa.net

प्रतिकात्मक तस्बिर

ओखलढुंगा - अपाङ्गता भएका व्यक्तिले सार्वजनिक निकायले प्रवाह गर्ने सेवामा विभेद हुने गरेको छ ।

यातायात, होटेल, पसल र बैंक तथा वित्तीय संस्थाहरुमा सेवा लिने क्रममा अपाङ्गता भएका कारण विभेद खेप्नु परेको उनीहरुको गुनासो छ ।

सार्वजनिक यातायातमा यात्रा गर्न बस तथा अन्य सवारी रोक्दा समेत नरोकिदिने, रोकिहाले पनि सिट नभएको भनेर नचढाउने गरेको सिद्धिचरण नगरपालिका १२ का दृष्टिविहीन युवा गोरखमान राईले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, ‘गाडी रोक्दा पनि रोक्दैनन्, छुटको त कुरै नगरौँ ।’ अन्य सार्वजनिक क्षेत्र, होटल तथा पसलमा पनि हेय दृष्टिले हेर्ने र व्यवहार गर्ने गरेको राईको गुनासो छ ।

यातायात क्षेत्रमा अपाङ्गता भएका व्यक्तिले परिचय पत्रका आधारमा ५० प्रतिशतसम्म छुट पाउने व्यवस्था भए पनि आफूले नपाएको रिमा राईले गुनासो गर्नुभयो । परिचय पत्र देखाउँदा यातायातमा हामीलाई परिचय पत्र नभइ पैसा चाहिने भन्दै छुट नदिने गरेको राईको भनाइ छ ।

विद्यालयमा पाउनु पर्ने छुट तथा छात्रवृत्तिसमेत अपाङ्गता भएका व्यक्तिले पाएका छैनन् । सिद्धिचरण नगरपालिका वडा नम्बर १ की कल्पना ओझाले आफूले विद्यालयमा पढ्दा छात्रवृत्ति मागे पनि नपाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘विद्यालयमा छात्रवृत्ति पाइएन, क्याम्पसमा पनि माग्दा व्यवस्था नभएको जानकारी पाइयो, अहिले आर्थिक सहायता पाएमा स्नातकोत्तर पढ्ने रहर छ ।’

राज्यका सबै निकायले अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकतामा सहुलियत दिएर सेवा प्रवाह गर्ने नीति लिएका छन् । त्यस्ता नीति कार्यन्वयन नहुँदा असक्त र असहाय व्यक्ति मर्कामा पर्ने गरेका छन् । सरकारी तथा सामुदायिक संरचना निर्माण गर्दा अपाङ्गता मैत्री निर्माण गर्ने ओखलढुंगाका स्थानीय तहका नीति तथा कार्यक्रममा उल्लेख भए पनि कार्यन्वयन नभएको अपाङ्गतासम्बन्धी क्रियाशील संस्था फोडिड नेपालका अध्यक्ष गोपालमान थापाले बताउनुभयो ।

नेपालमा अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४ जारी भइ लागू भएको छ । त्यस ऐनमा अपाङ्गताका कारण अशक्त व्यक्तिलाई सेवा दिन विशेष व्यवस्था गरेको छ । ऐनका दफा ८ मा भेदभावविरुद्धको अधिकार छ ।

अपाङ्गता भएकै कारण कुनै पनि ठाउँ वा सेवामा भेदभाव गर्न नपाइने व्यवस्था छ भने दफा १५ मा सेवा सुविधा तथा न्यायमा पहुँचको अधिकार छ । यो दफामा यातायात क्षेत्रमा सेवा दिँदा सहुलियत दिनु पर्ने तथा विभेद गर्न नपाइने व्यवस्था छ ।

तर, ऐनविपरीत यातायात व्यवसायीले अपाङ्गता भएका व्यक्तिलाई गाडी नरोक्न, नचढाउने र चढाइहाले छुट नदिने गरेको सम्बन्धमा सिद्धिचरण नगरपालिकाका महिला विकास शाखा प्रमुख यातायात व्यवसायी, प्रमुख जिल्ला अधिकारी र नगरपालिका बसेर छलफल गर्ने बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले त्यसरी विभेद गरेमा प्रहरीमा उजुरी गर्न आग्रह गर्नुभयो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया