पाकिस्तानमा पूर्वप्रधानमन्त्री खानकाे रिहाइ माग गर्दै हजारौंको ...
मंसिर ११, २०८१ मंगलबार
१३ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत कुस्ती खेलमा स्वर्ण पदक विजेता भीमदत्तनगरकी सङ्गीता धामीको चर्चा शिखरमा चुलिएको छ । उहाँले नेपाली कुस्ती खेलको इतिहासमा पहिलोपटक जारी सागमा नेपाललाई स्वर्ण दिलाउनु भएकाे थियो । अहिले उहाँको गृहनगरमा खुशियाली छाएकाे छ ।
जनकपुरमा गएकाे शनिबार सम्पन्न ५५ किलो तौल समूहतर्फ उहाँले बङ्गलादेशका सखिरा सरकाररिनेलाई फाइनलमा पराजित गर्दै नेपाललाई महिलातर्फको कुस्ती खेलमा स्वर्ण पदक दिलाउनुभएको थियो । “धामीको मेहनत, परिश्रम र नियमित प्रशिक्षणले नेपाललाई सफलता हात लागेको हो ।” प्रशिक्षक राजेन्द्र चन्दले भन्नुभयो ।
तीन वर्षअघि हटौँडामा भएको राष्ट्रिय खेलकूद प्रतियोगिताबाट उहाँले कुस्तीमा स्पर्धा थाल्नुभएको थियो । “तीन वर्षअघि भीमदत्तनगर छेउछाउका स्कूलहरुमा खेलाडी खोज्दै हिँडेका बेला सङ्गीतालाई यहाँको भृकुटीबाट खेलमा ल्याएको हुँ ।” प्रशिक्षक चन्दले भन्नुभयो, “सङ्गीताको स्वर्णले सबैलाई खुशियाली दिलाएको छ ।” यसअघि बृहत् आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा पनि उहाँले स्वर्ण पदक हात पार्नुभएकाे थियाे ।
उहाँले प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गर्नुभएको छ । स्नातक तहको अध्ययनलाई अघि बढाउने योजनामा उहाँ लाग्नुभएको छ । बाह्राैँ सागदेखि मात्र महिला कुस्तीलाई प्रतियोगितामा समावेश गरिएको थियो । “बाह्रौँ सागमा पनि सुदूरपश्चिमबाट तीन जना महिला खेलाडीले भाग लिएका थिए ।” प्रशिक्षक चन्दले भन्नुभयो, “अहिले यहाँबाट सहभागी अधिकांश महिला खेलाडीले नेपाललाई पदक दिलाएका छन् ।”
त्यसैगरी भीमदत्तनगरका शिवाङ्गी दुबे, अम्बिका भण्डारी र मनिषा सिंह र कोमल खत्रीले पनि पदक प्राप्त गर्न सफल भएका छन् । शिवाङ्गी, अम्बिकाले रजत र मनिषा र कोमलले काष्य पदक हात पारेको प्रशिक्षक चन्दले जानकारी दिनुभयो । त्यसैगरी भीमदत्तनगरकी निर्मला जागरीले पनि रजत पदक जितेकी छिन् । पछिल्लो समय सबैभन्दा बढी महिला कुस्ती खेलाडी भीमदत्तनगरबाट साग स्पर्धामा पुगेका छन् ।
“महिलातर्फ सात जनामा छ जना भीमदत्तनगरकै खेलाडी पर्न सफल भएका थिए ।” चन्दले भन्नुभयो, “यो ठूलो उपलब्धिको विषय हो ।” त्यसैगरी पुरुषतर्फ कुस्तीको ७० किलोतौल समूहमा कास्य पदक भीमदत्तनगरका सुरेश चुनाराले दिलाउनुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।