'ट्राइ' गर्छु भनेर हानेको बल गोलमा परिणत भयो : सुनिल बल

 मंसिर २५, २०७६ बुधबार ११:५:३४ | रासस
unn.prixa.net

काठमाण्डौ – १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलको फाइनलमा भुटानविरुद्ध सुनिल बलले हेडमार्फत दिलाएको गोल नै नेपालका लागि स्वर्ण पदकका लागि निर्णायक भयो ।

प्रतिस्पर्धात्मक जस्तै देखिएको खेलको पहिलो हाफ बराबरीमा रोकिएपछि उत्साहका साथ खेल हेर्ने प्यारापिटमा भरिभराउ नेपाली दर्शकले केही नमिठो अनुभव गरेका थिए । 

दर्शकको तितो अनुभूति केही क्षणमात्रै रह्यो । दोस्रो हाफको ५४औँ मिनेटमै सुनिलले गोल फर्काएर दर्शकको मुहारमा चमक छरे । डिफेन्डर सुमन अर्यालले दिएको पासलाई सुनिलले हेडमार्फत गोल गर्न सफल भए । 

सुनिलले दायाँ विङ्गबाट आएको क्रसलाई हेडमार्फत गोल गरे । त्यो गोलले दर्शकमा थप ऊर्जा भरियो । स्वर्ण पदकका लागि त्यही गौल नै निर्णायक बन्योे । राष्ट्रिय झण्डा फहराउँदै दर्शकले नेपाल...नेपाल... भनेर रङशाला गुञ्जाए । भुटानमाथि नेपालले २–१ अन्तरमा जित्दा बीचका केही अवसर भने चुकाएको थियो ।

स्वर्ण दिलाउने महत्वपूर्ण गोल गरेका सुनिल चलचित्रको नायक झैँ बने । नचिताएको परिस्थितिमा गोल गरेको अनुभव सुनाउँदै उनले भने, ‘सुमन अर्यालले क्रस ग¥यो, त्यही मुभमेन्टमा म पनि टाइमिङमा पुगे, ट्राइ गर्छु भनेर हानेको गोलमा परिणत भयो ।’ उनले यो खुशी शब्दमा व्यक्त गर्न नसकिने प्रतिक्रिया दिए ।

गोलगरे लगत्तै उनले जर्सी खोले । जर्सी खोल्दा पहेँलो कार्ड दिइन्छ । उनले त्यो खुशीयालीमा आफूले के गरेँ भनेर सोच्नसमेत सकेनन् । 

उनका अनुसार भुटानसँगको खेलको पहिलो हाफ प्रतिस्पर्धात्मक नै रह्यो । खेल सुरु भएको १६ औँ मिनेटमा फरवार्ड अभिषेक रिजालले नेपालका लागि पहिलो गोल गरे । खेलको ३६औँ मिनेटमा भुटानी खेलाडी चेन्चो ग्याल्सेनले गोल फर्काएर खेललाई बराबरीमा पु¥याए । 

‘सेकेण्ड हाफमा स्कोरिङ बाहिर निकाल्न सक्यौँ, त्यसमा पनि म आफैँले गोल गर्न सक्दा अत्यन्तै खुशी छु’, सुनिलले भने । 

फाइनल पुगेपछि नेपाललाई ठूलो दबाब नभएकाले पनि नेपाली समूह एकबद्ध भएर खेल्ने आत्मविश्वास उनको थियो । नभन्दै त्यस्तै भएकाले टिमवर्कले काम गरेको उनी बताउँछन् । ‘गोल गर्दा खुशीको सीमा नै छैन, फुटबललाई माया गरेर धेरै दर्शक आइदिनुभयो, सबैलाई धन्यवाद दिन चाहन्छु, परिवार, साथीभाइ र शुभेच्छुकले गरेर म यहाँ आइपुगेको छु’, हर्षित हुँदै उनले भने । 

फुटबलमा सङ्घर्षरत सुनिलले साफमा अन्तिम र निर्णायक गोल गरेर नयाँ उचाइ प्राप्त गरे ।  सामाजिक सञ्जालदेखि समाचारमा सुनिलको नाम अग्रपङ्तिमै छ । सामाजिक सञ्जालबाट सुनिललाई बधाइ दिनेको ओइरो नै छ । 

उनी योसहित दोस्रो गोल्डमेडलिस्ट खेलाडी हुन् । सन् २०१६ मा भारतको गुवाहिटीमा भएको १२औँ सागमा पनि उनी सहभागी थिए । त्यहाँ पनि नेपालले स्वर्ण ल्याएको थियो ।

यसपालि होम ग्राउण्डमा सफल हुनुमा दर्शकको हात रहेको उल्लेख गर्दै सुनिलले भने, ‘हजुरहरूले यति सहयोग गर्नुभयो कि खेलाडीलाई चाहिने शक्ति दिनुभयो, त्यही ऊर्जाले एकदम केही गर्छु र देखाउँछु भन्ने लागेको थियो, दर्शकलाई स्वर्ण दिलाएरै छाड्यौँ ।’
 

समूह चरणको खेलमा नेपालसँग भुटान ४–० ले हारेको थियो । एउटा खेल हार्दैमा विपक्षीलाई कहिल्यै कमजोर ठान्न नहुने बताउने सुनिलले पछिल्ला तीन खेलमा भुटानले राम्रो नतिजा ल्याएर जित्दै आइरहेकाले बलियो दाबेदार भएको प्रतिक्रिया दिए । ‘भुटानसँग सहज जितको आशा सोचेका थिएनौँ, प्रतिस्पर्धी नै लिएका थियौँ । खेल त्यस्तै भयो पनि,  सुनिलले भने ।

लिगमा सुनिलले तीन वर्ष थ्रीस्टार क्लबबाट खेलेका थिए । उनी अहिले च्यासलमा आबद्ध छन् । अब लिग गेम पनि सुरु हुन लागेको छ । नयाँ क्लबमा तालिम राम्रै भइरहेकाले लिगमा राम्रो गर्ने उनको सोच छ । ‘नयाँ क्लबमा च्यालेन्जिङ छ, उत्कृष्ट गर्ने प्रयास गर्छु’, उनले थपे । 

नेपाली फुटबल टिमका कप्तान सुजल श्रेष्ठले स्वर्ण जितेपछि प्रतिक्रिया दिँदै टिम वर्क नै महत्वपूर्ण कुरा भएको बताए । जितको श्रेय नेपाली दर्शकलाई दिँदै उनले भने, ‘आजको खेलमा बलियो पक्ष घरेलु समर्थक नै हो, अनि टिमवर्कले काम गर्‍यो ।’ 

उनले पहिले जे जस्तै खेले पनि भुटानलाई बलियो प्रतिस्पर्धीकै रूपमा हेरेको बताए । कुनै पनि खेलका लागि सरकारले ध्यान दिनुपर्नेमा उनको जोड छ । 

नाकमा टेप लगाएरै भए पनि मैदानमा उत्रिएका गोलकिपर विकेश कुथुले दर्शकले गरेर नै स्वर्ण जितेको बताउँदै भने, ‘यो मेडल दर्शकका लागि डेडिकेट गर्न चाहन्छु ।’ 

व्यवस्थित र भव्यरूपमा झिलिमिली पारेर सिङ्गारिएको रंशालामा नेपालको जितसँगै हजारौँ दर्शक तथा खेलाडीको उपस्थितिमा आतिसबाजी र विविध मौलिक सांस्कृतिक कार्यक्रम, झाँकी तला लाखे नाच प्रस्तुत गरिएको थियो । 

सबै देशको झण्डा र मस्कटसहित मार्चपासमा सहभागी भएका खेलाडीहरूलाई दर्शकले हात हल्लाएर अभिवादन गरेका थिए । खेलाडीले पनि दर्शकलाई अभिवादा फर्काउन भुलेनन् । दर्शसकँगै नेपाली खेलाडीले पनि नेपाल... नेपाल... भन्दै हुटिङ गर्न भ्याए । नेपाली दर्शकले भुटान... भुटान... को हुटिङसहित भुटानका खेलाडीलाई पनि सान्त्वना दिए ।  

सन् १९८४ मा स्थापना भएको सागको १३औँ श्रृङ्खलासम्म आइपुग्दा नेपालले यसअघि दुई प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिसकेको थियो । सन् १९८४ मा पहिलो पटक नेपालमै साग भएको थियो । सन् १९९९ मा दोस्रो र अहिले तेस्रो साग नेपालमा भयो । 

दक्षिण एसियाली देशबीचको यो प्रतियोगितालाई खेलकुद उत्सवका रूपमा लिने गरिन्छ । यस पटकको सागमा नेपाल, भारत, बंगलादेश, पाकिस्तान, माल्दिभ्स, भुटान र श्रीलङ्काका खेलाडीले २६ विधामा प्रतिस्पर्धा गरेका थिए । 

प्रतियोगितामा भारत पहिलो भयो भने नेपालले ५१ स्वर्णसहित दोस्रो स्थान कायम गर्न सफल भयो । समापनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो सन्देशमार्फत नेपाली खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेको भन्दै धन्यवाद दिनुभयो । 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया