देशको शान राख्ने खेलाडीमाथि लगानी खोई ?

 मंसिर २५, २०७६ बुधबार १२:४४:३४ | विष्णु विश्वकर्मा
unn.prixa.net

‘१३ औँ सागमा नेपाललाई कम्तीमा ५० स्वर्ण !’ साग सुरु हुनुअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेश सिलवालको यो दाबी धेरैलाई ‘हावादारी’ लाग्यो । तर साग सुर भएको दोस्रो दिनमै नेपाली खेलाडीले १५ स्वर्ण दिलाए । खेलाडीको ‘चमत्कारिक’ प्रदर्शनपछि राखेप सदस्यसचिव सिलवालको बोली मान्न करै लाग्यो ।

तेस्रो दिनसम्म नेपालको स्वर्ण संख्या २५ पुग्दा भारत दोस्रो स्थानमा थियो । घरेलु मैदानमा घरेलु दर्शककासामु नेपालले एकपछि अर्को स्वर्ण थप्दै गयो । सागको १० औँ दिनसम्म नेपालले स्वर्णको संख्या ५० कटायो । 

नेपालले यति धेरै स्वर्ण जितेको यो पहिलो पटक हो । समग्रमा २ सय ६ पदक जितेको नेपालले ६० रजत र ९५ कांस्य पनि हात पार्‍यो । शीर्ष स्थानको भारतले १ सय ७४ स्वर्णसहित ३ सय १२ पदक जित्यो । 

त्यसो त घरेलु मैदानमा नेपालले यत्तिको प्रदर्शन गर्नु त्यति अनौठो पनि होइन । ओलम्पिक प्रतियोगितामा पनि घरेलु मैदानको फाइदा उठाउँदै आयोजक देशले धेरै स्वर्ण जित्ने गरेका छन् । तर लगानी र मेहनतबिना स्वर्ण आउँदैन । नेपाली खेलाडीले स्वर्णसहित नेपाललाई पदक जिताउन रातदिन पसिना बगाएका छन् । तर खेलाडीको पसिनाको मूल्य देशलाई दिलाउने पदकमा देखिए पनि लगानीमा देखिएको छैन । जुन दुःखलाग्दो छ ।

साग र खेलकुदको बजेट बराबरी !

खेलकुदमा राज्यको लगानी कति छ ? जोसुकैले जवाफ दिन सक्छन्, निकै कम अर्थात नगन्य ! सरोकारवालाको जवाफ पनि त्यही छ, पर्याप्त बजेट छैन । अझ भनौं सरकारको प्राथमिकतामा अझै पनि खेल क्षेत्र परेकै छैन । 

यसको जवाफ खोज्न भर्खरै सम्पन्न भएको १३ औँ साग र खेलकुदमा चालु आर्थिक वर्षभरिको बजेट हेरे पुग्छ । गएको जेठ १५ मा अर्थमन्त्री युवराज खतिवडाले घोषणा गरेको बजेटमा युवा तथा खेलकुदका लागि ३ अर्ब ९९ करोड ८ लाख रुपैयाँ विनियोजन गरिएको छ । जुन गएको वर्षभन्दा २० करोडले कम हो । कुल बजेटमा भने शून्य दशमलव २६ प्रतिशत मात्र ।

जबकि नेपालमा १० दिन आयोजना गरिएको १३ औँ सागको बजेट ३ अर्ब ६४ करोड छ । राखेपले झण्डै ५ अर्बको बजेट माग गरे पनि अर्थ मन्त्रालयले ३ अर्ब ६४ करोड बजेट स्वीकृत गरेको हो ।

साढे ३ अर्बको यही बजेटले भूकम्पले ध्वस्त दशरथ रंगशाला र पोखरा रंगशाला रातारात ठडिए । सागका लागि चाहिने अरु पूर्वाधार पनि रातारात नै तयार पारिए । जुन सुखद् पक्ष मानियो ।

तर एउटा अन्तर्राष्ट्रिय प्रतियोगिता र देशको खेल क्षेत्रको एक वर्षको बजेट झण्डै बराबर हुनुले नै खेल र खेलाडीमाथि राज्यको लगानी कति छ भन्ने स्पष्ट देखाउँछ ।

‘पूर्वाधार पुरानै । संरचना पुरानै । बजेटको केही अंश बढे पनि लगानी पुरानै छ,’ खेल पत्रकार प्रकाश तिमिल्सिना भन्नुहुन्छ, ‘राज्यको लगानी नै छैन भने नयाँ के हुन्छ ? यसरी त खेलकुदको दिगो विकास हुन सक्दैन ।’

खेलकुदका लागि सबैभन्दा पहिले पूर्वाधार हो । खेल खेल्ने मैदानदेखि खेलाडीलाई चाहिने सामग्री पनि पूर्वाधार नै हुन् । जसमा राज्यको लगानी अत्यन्तै न्यून छ । 

मूलपानी क्रिकेट मैदान अझै पूर्ण छैन । भूकम्पले ध्वस्त दशरथ रंगशाला जसोतसो बन्यो । तर विकल्पमा अझै अर्को रंगशाला निर्माण गरिएको छैन । देशभर फुटबल र क्रिकेटको रौनक छ । तर नियमित रुपमा क्रिकेट र फुटबलका लिग सञ्चालनमा छैनन् ।

खेलाडीका दुःख 

पूर्वाधार मात्रै होइन, अहिले पनि नेपाली खेलाडी र प्रशिक्षकलाई प्रोत्साहन छैन । जितेका बेला केही पुरस्कार र सम्मान दिए पनि अघिपछि बेवास्ता गरिन्छ । एउटा प्रतियोगिताका लागि खेलाडीले वर्षौं वर्ष मेहनत गर्नुपर्छ । तर घरखर्च चलाउन त परको कुरा खेलाडीसँग ‘पकेट खर्च’ सम्म पनि हुँदैन । 

त्यही भएर सागको अघिल्लो दिन एथ्लेटिक्सकी खेलाडी तुलसा खत्री वैदेशिक रोजगारीका लागि कतार हिँड्न ‘बाध्य’ भइन् । सेनामा जागिरे तुलसा खेल र जागिरले खान लाउन नपुगेपछि मुखैमा आएको साग छाडेर कतार पुगेकी हुन् ।

सागको अघिल्लो दिन कतार हिडेपछि उनको चर्चा र आलोचना भयो । तर यसरी खेलबाट पलायन भएका धेरै स्वर्णधारी खेलाडी अहिले पनि गुमनाम छन् ।
१३ औँ सागमै नेपाली सुटिङका खेलाडीले अरु देशका खेलाडीसँग पेस्तोल मागेर खेल्नुपर्‍यो । साग आयोजनाका लागि अरबाैँ खर्चको सरकारले खेलाडीका लागि पेस्तोल किन्न सकेन । खेलाडीका लागि यो सानो पीडा थिएन ।

पोखरा रंगशालामा स्वर्ण जितेका हिमाल टमाटा अर्का पात्र हुन । जसले पुरानै साइकल र अर्काको सापटी जर्सीमा देशलाई स्वर्ण दिलाए । अरु देशका अब्बल खेलाडीसँग प्रतिस्पर्धा गरेर स्वर्ण जितेपछि हिमालले भनेका थिए, ‘स्वर्ण जितेँ, तर खुशी जित्न सकिनँ ।’

देशलाई स्वर्ण दिलाएका धेरै खेलाडीको हालत योभन्दा फरक छैन । आर्थिक र पारिवारिक रुपमा निपुण खेलाडीलाई खासै फरक नपर्ला । तर देशको झण्डा बोकेर नेपालको शान र मान उचो बनाउन लागिपरेका खेलाडीले घर परिवारको माया मारेका छन् । राज्यले क्षणिक सम्मान र पुरस्कार दिएकै भरमा व्यक्तिगत आँसु लुकाएका छन् । देशका लागि हाँसेका छन् । तर त्यो हाँसो मनमा आँट र शरीरमा बल भएसम्मका लागि मात्रै हो । 

जुन दिन यी सबै बाध्यता हविगत भएर आइलाग्छ । अनि खेलाडी शीरमा बोक्नुपर्ने देशको झण्डा पसिना पुछ्न गोजीमा हालेर पलायन बन्न बाध्य बन्छन् । कति बनिरहेका पनि छन् । 

मन्त्रीका आश्वासन, सरकारका सपना !

खेलाडीले अविश्वसनीय प्रदर्शन गरेर ५१ स्वर्ण जितेपछि राखेपका सदस्यसचिव सिलवालले साग समापनमै प्रधानमन्त्रीले ‘विशेष प्याकेज’ घोषणा गर्ने उद्घोष गर्नुभयो । बुधबार प्रधानमन्त्रीले दिने विशेष प्याकेजले खेलाडीको पसिनाको मूल्यांकन कत्तिको दीर्घकालीन हुन्छ ? त्यो हेर्न बाँकी छ ।

तर उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले साग समापन मन्तव्यमा ‘आर्थिक अवस्था कमजोर भएर खेल्न नसक्ने र पलायन हुनुपर्ने अवस्था अब आउन नदिने’ उद्घोष गर्नु खेलाडीका लागि दीर्घकालीन विषय हो । यसका लागि विशेष नीति बनाउने र त्यहीअनुसार नयाँ बजेट तथा कार्यक्रम ल्याउने पनि उपप्रधानमन्त्रीको दाबी छ ।

तर एउटा औपचारिक कार्यक्रममा देखाइएको यो आश्वासन पूरा हुन्छ की हुँदैन भन्ने मुख्य प्रश्न हो । जुन यसअघि थुप्रै मन्त्रीले थुप्रै पटक देखाए पनि पूरा गर्न सकेनन् ।

‘अब खेलाडीको पसिनाले मात्रै हुँदैन । कसैको इच्छा चाहनाले मात्रै खेल जितिंदैन । यसका लागि राज्यको पूरा लगानी चाहिन्छ’ खेल पत्रकार तिमिल्सिना भन्नुहुन्छ, ‘सरकारले कम्तीमा खेलको प्राथमिकताका क्षेत्र तोक्नुपर्छ । भौतिक पूर्वाधार विकास गर्नुपर्छ । मासिक, वार्षिक रुपमा खेलाडी र प्रशिक्षकलाई खेलेर खान पुग्ने पारिश्रमिक दिनुपर्छ । अनि मात्रै अहिले जितेका स्वर्ण अर्को पटक रक्षा गर्न सकिन्छ  ।’

अन्तिम अपडेट: जेठ ३२, २०७७

विष्णु विश्वकर्मा

उज्यालोमा कार्यरत विष्णु विश्वकर्मा कृषि र राजनीतिक क्षेत्रमा कलम चलाउनु हुन्छ। 

तपाईको प्रतिक्रिया