वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन ज...
मंसिर ११, २०८१ मंगलबार
सुर्खेत – कर्णाली प्रदेशका हिमाली जिल्लामा वर्षासँगै हिमपात भएको छ । सुर्खेतमा बिहानैदेखि अविरल वर्षा भइरहेको छ । हिमाली भेगमा हिमपात हुन थालेपछि सामुदायिक विद्यालयबाट वार्षिक परीक्षा दिने बालबालिकालाई निकै सास्ती भएको छ ।
यही मंसिर १९ गतेबाट जुम्लाका एक नगरपालिका र सात गाउँपालिकामा सञ्चालन भएको वार्षिक परीक्षा हिमपातले प्रभावित बनेको छ । परीक्षा सञ्चालन भइसकेको र रोक्न नमिल्ने भएकाले आगो बालेरै भए पनि परीक्षा सञ्चालन भइरहेको तिला गाउँपालिका ४ को नाभीडाँडा आधारभूत विद्यालयका शिक्षक तेजबहादुर शाहीले जानकारी दिनुभयो ।
‘बाहिर हिउँसँगै पानी परिरहेको छ । चिसोले बालबालिकाको हात कठ्याङ्ग्रिन थालेपछि आगो बालेरै परीक्षा सञ्चालन गरेका छौँ’, शिक्षक शाहीले भन्नुभयो, ‘बर्सेनि जाडो र हिमपात भइरहँदा बालबालिकालाई परीक्षा दिन कष्ट हुने गर्दछ ।’
स्थानीय सरकारले आगामी वार्षिक परीक्षालाई अगाडि सारेको खण्डमा विद्यार्थीले यो समस्या भोग्नु नपर्ने उहाँको भनाइ थियो ।
चन्दननाथ नमूना मावि खलङ्गाका प्रधानाध्यापक टङ्कबहादुर महतले भारी हिमपातका कारण परीक्षार्थीहरु थरथर काँप्दै लेख्न बाध्य भएकाे बताउनुभयो । उहाँले भन्नुभयो, ‘चन्दननाथ नगरपालिकाको निर्देशन बमोजिम हामीले यही मंसिर २५ गतेदेखि वार्षिक परीक्षा सञ्चालन गरेका छौँ , हिमपातले विद्यार्थी शिक्षक सबैलाई परीक्षा दिन लिन गाह्रो भएको छ ।’
चिसोले जुम्लाका आवासीय विद्यालयका बालबालिकाको परीक्षा सञ्चालन हुन सकेको छैन । हिमपातले हिमाली जनजीवन पनि कष्टकर भएको छ ।
निम्न वर्गीय घरपरिवार, ज्येष्ठ नागरिक, सुत्केरी महिला तथा बालबालिकालाई चिसोले बढी प्रभावित बनाएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. अर्जुनप्रसाद तिवारीले जानकारी दिनुभयो । डा. तिवारीले तातोपानी खान, न्यानोमा बस्न, औषधि नियमित सेवन गरिराख्न, झोलिलो तातोतातो चीज खान आग्रह गर्नुभयो ।
कर्णालीका हुम्ला, डोल्पा, मुगु, कालीकोट र जाजरकोट जिल्लावासीको दैनिकी बढी कष्टकर बनेको बताइएको छ । सरकारी कर्मचारी आगो बालेर कार्यालय सञ्चालन गरिरहेका जुम्लाका निमित्त प्रमुख जिल्ला अधिकारी देवेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
‘चिसो भए पनि सेवा प्रवाह गरिरहेका छौँ । हिजो अस्तिभन्दा हिमपातले सेवाग्राहीको आगमन घटेको छ’, श्रेष्ठले भन्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।