कक्षामा हाँसेको भन्दै ‘बेहोस हुनेगरी’ शिक्षकले विद्यार्थी कुटे

 पुस २, २०७६ बुधबार १९:३५:४५ | शिव ढुंगाना
unn.prixa.net

ओखलढुङ्गा - शिक्षकको कुटाइबाट लिखु गाउँपालिका वडा नम्बर ३ स्थित नर्मदेश्वरमा रहेको भिमसेनस्थान माध्यमिक विद्यालयमा कक्षा ७ मा पढ्ने ११ वर्षीया छात्रा पार्वती श्रेष्ठ बेहोस भएकी छन् ।

हल्ला गरेको आरोपमा विद्यालयका शिक्षक दिपक तामाङले ढाडमा कुटेपछि बालिका बेहोस भएको अभिभावकको गुनासो छ । अहिले उपचारपछि बालिकाको अवस्था सामान्य रहेको छ ।

सोमबार विद्यालयमा शिक्षकले विद्यार्थी कुटेपछि बालिका बेहोस हुँदा घटना बाहिरिएको हो । बालिका बेहोस हुनासाथ विद्यालय नजिकै रहेको मेडिकलमा उपचार गरिएको पीडित बालिकाका मामा बोधनारायण श्रेष्ठले बताउनुभयो ।

शिक्षक तामाङले कक्षा सञ्चालन भइरहेको अवस्थामा हल्ला गरेको भन्दै ढाडमा दुई मुक्का हानेको पीडित विद्यार्थी पार्वती श्रेष्ठले बताउनुभयो । कक्षा चलिरहेको समयमा अन्य साथीहरु हाँसेपछि आफू पनि सँगै शिक्षकले कुटेको उहाँको भनाइ छ । शिक्षकको कुटाइपछि आफ्नो छाती दुखेको र आँखा हेर्न समस्या भएको पीडित बालिकाले गुनासो गर्नुभयो ।

आरोपित शिक्षक दिपक तामाङले कक्षा सञ्चालनका समयमा हल्ला गरेपछि आफूले सामान्य सजाय दिएको तर, बेहोस हुनेगरी नकुटेको दाबी गर्नुभएको छ । उहाँले विद्यार्थीलाई  चेतावनीस्वरुप ढाडमा सामान्य कुटे पनि अन्य कारणले बिरामी भएको दाबी गर्नुभयो । छात्रालाई शिक्षकले कुटपिट गरेको आफूले नदेखेको प्रधानाध्यापक भिमप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

शिक्षकले कुटेलगत्तै विद्यार्थी रोएर बेहोस भएकाले विद्यार्थीले नाटक गरेको प्रअ सुवेदीको आरोप छ । अभिभावकले भने विद्यार्थी कुटिएको भन्दै विद्यालयको ध्यानाकर्षण गराएका छन् । 

अन्तिम अपडेट: चैत ६, २०८०

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया