५०० वर्ष पुराना लिपि संरक्षण गर्दै स्थानीय

 पुस ३, २०७६ बिहिबार १८:३१:१६ | शिव ढुंगाना
unn.prixa.net

खिजीदेम्वा–९ दोराखर्कमा रहेको ५ सय वर्ष पुरानो शेर्पा भाषाको लिपि रंगरोगनपछि  तस्बिर : शिव ढुंगाना/उज्यालो ।

ओखलढुंगा - खिजीदेम्वा गाउँपालिकाले ५ सय वर्ष पुराना मानेका ऐतिहासिक लिपि संरक्षण गर्न सहयोग गरेको छ ।

शेर्पा भाषामा लेखिएका त्यस्ता ऐतिहासिक मानेका लिपि पुरातात्विक बस्तु भएकाले वन समूहको अगुवाइमा संरक्षण सुरु गरिएको हो ।

गाउँपालिका अध्यक्ष वेदबहादुर रोकाका अनुसार सामुदायिक वन समूहलाई आर्थिक सहयोग गरेर लिपिका ज्ञाताहरुबाट ढुंगाका लिपिमा रंग लगाइएको छ । यसले पढ्न सजिलो हुने र नमेटिने रोकाले बताउनुभयो । 

मितेरी सामुदायिक वन उपभोक्ता समूह खिजिदेम्वा– ९ दोराखर्कमा आबद्ध स्थानीयले गाउँपालिकाको सहयोगमा लिपि संरक्षण थालेका हुन् । पुराना ठूला–ठूला ढुंगाहरु र अग्ला पहराहरुमा कुदिएका दर्जन बढी मानेमध्ये ५ वटा मानेमा कुदिएका लिपि संरक्षणका लागि रंगरोगन गर्न गाउँपालिकाले सहयोग गरेको छ । 

गाउँपालिकाले ५० हजार रकम सहयोग गरेको छ भने वन समूहले ८१ हजार सहयोग गरेको छ । 

त्यस्ता लिपि पुराना संस्कृति परम्पराको इतिहास भएकाले संरक्षण गर्नु सबैको दायित्व भएको समाजसेवी पेम्बा शेर्पाले बताउनुभयो । उहाँले वन समूहले ऐतिहासिक काम गरेको र आगामी दिनमा यस्ता सम्पदा संरक्षण गर्न स्थानीय सरकार नै अग्रसर हुनु पर्ने सुझाव दिनुभयो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया