मृत्यु संस्कारमा  परिर्वतन आवश्यक : मन्त्री पोखरेल

 पुस ७, २०७६ सोमबार १२:०:५४ | शिव ढुंगाना
unn.prixa.net

ओखलढुंगा - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विद्यामान मृत्यु संस्कार रुपान्तरण आवश्यक भएको बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का आमन्त्रित स्थायी समिति सदस्य पेशल खतिवडाका बुवा मनोरथ खतिवडाको दशौँ पुण्य तिथिमा आयोजित श्रद्धाञ्जली सभामा उहाँले मृत्यु संस्कारमा परिवर्तन आवश्यक रहेको बताउनुभएको हो ।

हाम्रा संस्कृतिले हाम्रो जीवनलाई सहज बनाउनु पर्नेमा जटिल बनाएकाले रुपान्तरण जरुरी रहेको उहाँको भनाइ छ । मन्त्री पोखरेलले संस्कृति सरल बनाउन सरल तरिकाले अवलम्बन गरे पुग्ने भन्दै जटिल र पीडामा परेका मान्छेलाई थप पीडा हुने किसिमका मृत्यु संस्कार रुपान्तरण आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘संस्कृति हाम्रो जीवन हो भने जीवनलाई सरल बनाउन वैज्ञानिक तरिकाले अपनाउन सक्नुपर्छ ।’

मन्त्री पोखरेलले खतिवडाको थालनीले परम्परा ठिक कि रुपान्तरण भन्ने बहस सुरु भएको बताउनुभयो । यस्तो बहस थालनी गरेर सांस्कृतिक रुपान्तरणको अभियन्ता बनेकामा खतिवडालाई  धन्यवादसमेत दिनुभयो ।

हिन्दू ब्राह्मणको मृत्यु संस्कारमा १३ दिनसम्म कुरीमा बसेर आफै पकाएर खानु पर्ने, अन्य जातसँग दोहोरो बोल्न नहुनेजस्ता परम्परा छन् । यस्ता परम्परा रुपान्तरण आवश्यक भएको नेकपाका जिल्ला इञ्चार्ज तथा सांसद यज्ञराज सुनुवारले बताउनुभयो । खतिवडा सांस्कृतिक रुपान्तरणको अभियन्ता भएको सुनुवारको भनाइ छ ।

श्रद्धाञ्जली सभामा नेकपाका केन्द्रीय सदस्यहरु निर्मल बराल, प्रकाश पोखरेल, हरिनारायण चौधरी र दुर्गाजयन्ती राई सहभागी थिए । राई खतिवडाकी जेठी बुहारी पनि हुनुहुन्छ । राईले समाज रुपान्तरण संस्कृति रुपान्तरबाट मात्र सम्भव भएकाले काजकिरिया गर्ने परम्परा फेरेर सरल विधि अपनाएको बताउनुभयो ।

संस्कार रुपान्तरणका लागि काजकिरियामा कुरीमा नबसेका पेशल खतिवडाको परिवारले स्व. मनोरथ खतिवडाले स्थापना गरेको जीवनप्रदिप मावि हर्कपुरबाट प्रत्येक वर्ष उहाँको स्मृतिमा एसईईमा सर्बोत्कृष्ट, दलित र महिला गरी तीन जनालाई तीन हजारका दरले पुरस्कार दिने घोषणा गरेको छ । त्यस्तै मृत्यु संस्कार रुपान्तरण गरेर सरल बनाउन अभियान थाल्ने अन्य जो कोही व्यक्तिलाई पाँच हजार पुरस्कारको पनि घोषणा गरेको छ ।

नेकपाको स्थायी कमिटी सदस्य खतिवडा बाबुको काजकिरिया गर्न कपाल काटेर कुरीमा बस्नुभएन । उहाँ मंसिर २९ गते बाबुको निधन भएपछि दाहसंस्कारमा सहभागी हुनुभयो । घर फर्केर बाबुको फोटोमा फूल चढाउनुभयो, धुप बालेर श्रद्धाञ्जली अर्पण गर्नुभयो । दशौं दिन सभा आयोजना गरेर पार्टीका नेताहरु सहभागी गराउनुभयो । शोक पुस्तिकामा श्रद्धाञ्जली लेखेर, फूल चढाएर धेरैले नेता खतिवडाका स्वर्गीय बाबु मनोरथ खतिवडालाई सम्झिए ।

उहाँका दुई जना भाइहरु समाजको आग्रहमा परम्परागत रुपमा काजकिरियामा बस्नुभएको छ । नरेन्द्र नेकपाको मोलुङ गाउँपालिका कमिटीका इञ्चाज हुनुहुन्छ भने सुरेन्द्र शिक्षक ।

परम्परागत काजकिरियामा बसेका नरेन्द्रले दाजुले संस्कार परिर्वतनको कुरा छलफल गर्नु भए पनि परिवारका सदस्य, तथा समाजका अन्य व्यक्तिहरुले परम्परा तोड्न नहुने भनेपछि आफूहरुले सल्लाहमै फरक–फरक तरिकाले कामकाज गरेको जानकारी दिनुभयो ।

संस्कार परिर्वतन गर्न कठिन भए पनि खतिवडाले ऐतिहासिक कदम उठाएको स्थानीय बुद्धिजीवी कुलप्रसाद खतिवडाले बताउनुभयो । समाजमा अहिले परम्परा ठिक कि परिवर्तन भन्ने विषयमा बहस सुरु भएकाले आगामी दिनमा परम्परामा बिस्तारै सुधार आउने उहाँको विश्वास छ । 

अन्तिम अपडेट: चैत ५, २०८०

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • लक्ष्मण पान्डे

    Dec. 23, 2019, 12:15 p.m.

    कमाउनिस्टहरुलाई धर्म र संस्कार जटिल नै लाग्छ । अचम्म छैन । तर इशाईको पैसामा बिकेका दुई चार कमाउनिस्ट कराएर धर्म संस्कार परिवर्तन हुँदैन । बाउआमाको मृत्यु हुँदा १३ दिन पनि छुट्याउन नसक्ने कमाउनिस्ट र कुन्नी के सुनार भनौदो इशाईको खेतालाहरुले धर्म संस्कार सक्याउन निकै अभ्यास गर्दै छन् । हैन त ?

  •  0 Reply

तपाईको प्रतिक्रिया