अनुदानको प्रलोभनमा किसान ठगिए

 साउन ४, २०७५ शुक्रबार १९:१९:० | उज्यालो सहकर्मी

खोटाङ – कृषिसम्बन्धी अनुदान पाउने आशामा खोटाङका किसानको लाखौँ रकम डुबेको छ । कृषिसम्बन्धी व्यवसाय सञ्चालनका लागि अनुदान दिलाउने नाममा भोजपुर पेउली (हाल झापा) ठेगाना बताउने जितेन्द्र राईले जिल्लाका किसानको लाखौँ रकम डुबाइदिएका हुन् । 

कृषक समूह गठन गरेर त्यसै समूहको नाममा दिक्तेलस्थित राष्ट्रिय बाणिज्य बैंक, बैंक अफ काठ्माडौं र ज्योति विकास बैंकमा जम्मा गरिएको रकम असार २८ र २९ गते झिकेर जितेन्द्र फरार भएको पीडितमध्येका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१, दिक्तेलकी जबुना राईले बताउनुभयो । 

३० प्रतिशत रकम जम्मा गर्दा ७० प्रतिशत अनुदान दिने भन्दै जितेन्द्रले आराभा इन्टरनेशनल सेन्टर फर एग्रिकल्चर ट्रेनिङ इजरायलको नाममा दर्जनौं किसान समूह गठन गरेर रकम जम्मा गर्न लगाएका थिए । खाली चेकमा हस्ताक्षर गर्न लगाएर राईले १२ वटा किसान समूहको नाममा विभिन्न बैंकमा जम्मा भएको ३२ लाख १ हजार रकम काठमाडौंकै विभिन्न शाखाबाट निकालेको पिडितको भनाई छ । 

खाता खोल्ने क्रममा लागेको समूहको खर्च बराबरको रकम केन्द्रबाट आएको भन्दै जितेन्द्रले आफैले निकालेर फिर्ता दिने भन्दै हस्ताक्षर गरेको चेक लिएका थिए । उनले नेर्पाकी वर्षा भुजेल र दोर्पा चिउरीडाँडाका विशाल राईको नागरिकता प्रयोग गरेर रकम झिकेको पाइएको छ ।

समूहकै सदस्य बनाइएका वर्षा र विशालको नागरिकता पनि नोटरीको प्रमाणपत्र बनाउनका लागि भन्दै जितेन्द्रले लिएका थिए । एक लाखभन्दा बढी रकम झिक्ने क्रममा बैंकले सम्बन्धित व्यक्तिको परिचयपत्रका आधारमा भुक्तानी नदिँदा समस्या आएको पीडितको गुनासो छ । उनले जिल्लाका अन्य किसानको लाखौं रकम ठगी गरेको अनुमान गरिएको छ । 

पीडितको प्राप्त मुद्धा सरकारी वकिलसँगको परामर्शमा दर्ता गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाले बताउनुभयो । 
 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया