चीनबाट स्वदेश फर्कन चाहने सबै नेपालीलाई ल्याइने : राख्ने ठाउँको खोजी हुँदै

 माघ १९, २०७६ आइतबार १५:१९:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – चीनको हुवेइमा रहेका नेपालीलाई स्वदेश ल्याउनको लागि फारम भर्ने समय सकिएको छ । चीनमा रहेको नेपाली दूतावासले फारम भर्नको लागि आइतबार बिहान ९ बजेसम्मको समय तोकेको थियो ।

कतिले फारम भरे भन्ने यकिन हुन बाँकी रहेको र समय सकिए पनि फर्कन चाहने सबै नेपालीलाई नेपाल ल्याइने परराष्ट्र मन्त्रालयले जनाएको छ । फारम भरेकाहरुको तथ्याङ्क संकलन भैरहेको र छुटेका तर नेपाल आउन चाहने अरु व्यक्तिका लागि पनि स्वदेश फिर्तीको लागि सहज वातावरण बनाउने प्रयास भैरहेको मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिनुभयो । 

बेइजिङमा रहेको नेपाली दूतावासले शनिबार सूचना निकालेर हुवेइमा भएका सबै नेपालीलाई नेपाल फर्काउन जहाज चार्टर भैरहेकोले फारम भर्न भनेको थियो । चीनको हुवेइ प्रान्तको वुहान शहरबाट भारत, बंगलादेश लगायत देशले आफ्ना नागरिक फिर्ता लैजान थालेपछि नेपालले पनि सक्रियता देखाएको हो । 

मन्त्रालयले गएको माघ १४ गते आफ्नो नागरिक फिर्ता गर्न चाहेको पत्र चीनलाई पत्र पठाएको थियो । त्यसको सकारात्मक जवाफ आएपछि सरकारले चीनमा रहेका नेपालीलाई नेपाल ल्याउन लागेको हो । 

हुवेईका चार सहरबाट नेपालीलाई वुहानसम्म बसमा ल्याउने र त्यहाँबाट नेपाल एयरलाइन्सको विशेष विमानमा स्वदेश ल्याउने सरकारको तयारी छ । तर स्वदेश ल्याउने प्रक्रिया पूरा गर्न केही दिन लाग्नेछ ।

अहिलेसम्म चीनका ११ विश्वविद्यालयका १ सय ८८ नेपाली विद्यार्थी सम्पर्कमा आएको चीनमा रहेको नेपाली दूतावासले जनाएको छ । 

स्वदेश ल्याएपछि १५ दिनसम्म डाक्टरको निगरानीमा

स्वदेश फिर्ताको लागि फारम भरेका नेपालीलाई आवश्यक प्रक्रिया पूरा गरेर सरकारले विशेष विमानबाट नेपाल ल्याउने जनाएको छ । यसरी फर्काइएका नेपालीलाई १५ दिनसम्म आइसोलेसन अर्थात छुट्टै ठाउँमा राख्ने सुनिश्चित भएपछि मात्र चीनले फर्कन अनुमति दिनेछ । 

चीनका विभिन्न सहरमा रहेका नेपालीलाई वुहानसम्म लैजान र त्यहाँबाट स्वास्थ्य जाँचलगायतका प्रक्रिया पूरा गर्न केही दिन समय लाग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । चीनबाट ल्याइएका नेपालीलाई १५ दिनसम्म डाक्टरको निगरानीमा राखिनेछ ।

उपयुक्त ठाउँकाे खोजी

चीनबाट आफ्ना नागरिक फर्काएका अरु देशले पनि अरु व्यक्तिसँग सम्पर्कमा आउन नदिन उनीहरुलाई छुट्टै ठाउँमा राखेका छन् । नेपाल सरकारले पनि यसरी राख्ने उपयुक्त ठाउँ खोजी भैरहेको जनाएको छ ।

कोरोना भाइरसको परीक्षण तथा उपचारका लागि स्वास्थ्य मन्त्रालयले काठमाण्डौका पाँच र काठमाण्डौबाहिर चार अस्पताललाई तयारी अवस्थामा राख्न निर्देशन दिएको छ । 

चीनबाट फिर्ता ल्याइने र स्वदेशमै रहेका कोरोना शंकास्पदको उपचारका लागि शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकु, पाटन अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र सिभिल अस्पताल तोकिएको मन्त्रालयले जनाएको छ । 

काठमाण्डौबाहिर पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा, चितवनको भरतपुर अस्पताल, भैरहवा अस्पताल र लुम्बिनी प्रादेशिक अस्पताललाई पनि तयारी राखिएको छ । तर चीनबाट ल्याइने नेपालीलाई कहाँ कसरी राख्ने भन्ने चाहिँ टुंगो लाग्न बाँकी रहेको सरकारले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया