महराको मुद्दामा अन्तिम सुनुवाइ चल्दै : बहस सकिए आजै अन्तिम फैसला आउने

 फागुन ४, २०७६ आइतबार १५:१:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - यौन दुर्व्यवहारको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दामा आज अन्तिम सुनुवाइ भैरहेको छ ।

महराको मुद्दामा काठमाण्डौ जिल्ला अदालतका न्यायाधीश अम्मरराज पौडेलको इजलासमा सुनुवाइ भइरहेको हो । अहिले मुद्दामा बहस चलिरहेको र बहस सकिएपछि अन्तिम फैसला हुने काठमाण्डौ जिल्ला अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले उज्यालोलाई जानकारी दिनुभयो ।

संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको अभियोगमा महरा पुर्पक्षका लागि डिल्लीबजार कारागारमा हुनुहुन्छ । अरू कुनै कुरा झिकाउने आदेश नभए आजै फैसला हुने सम्भावना रहेको जिल्ला अदालत काठमाण्डौका स्रेस्तेदार आनन्दराज श्रेष्ठले बताउनुभयो ।

महराले यसअघि आफूलाई जेल पठाउने जिल्ला अदालत काठमाण्डौको फैसलाविरूद्ध पाटन उच्च अदालतमा निवेदन दिनुभएको थियो । उच्च अदालतले भने जिल्ला अदालतको फैसलालाई सदर गर्दै एक महिनाभित्र मुद्दाको टुंगो लगाउन आदेश दिएको थियो ।

महराविरुद्ध गएको कात्तिक १४ गते जिल्ला अदालत काठमाण्डौमा मुद्दा दायर भएको थियो । महराविरुद्ध जबर्जस्ती करणी प्रयासमा पाँच वर्ष र सार्वजनिक पद धारण गरेर कसुरको प्रयास गरेको अभियोगमा साढे २ वर्ष गरी साढे ७ वर्ष कैद सजाय मागसहित मुद्दा दायर भएको हो ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया