सातौँ सामाजिक सुरक्षा दिवस : दीगो पेन्सन र गुणस्तरीय स्वास्थ्य ...
मंसिर ११, २०८१ मंगलबार
कास्की – युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक विजेता खेलाडीलाई सरकारले मासिक भत्ताको प्रबन्ध गरेको बताउनुभएको छ ।
मन्त्री विश्वकर्माले पोखरा महानगरपालिका १७ काे दोविल्लामा सहारा क्लब पोखराले सञ्चालन गरेको सहारा एकेडेमीको मङ्गलबार अवलोकन पनि गर्नुभयाे । उहाँले अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक विजेता खेलाडीलाई जीवनभर मासिक पाँच हजार रुपैयाँ तथा ओलम्पिकमा सहभागीलाई मासिक चार हजार रुपैयाँका दरले भत्ता प्रदान गर्ने नीति सरकारले बनाएको उल्लेख गर्नुभयो ।
सरकारले खेल क्षेत्रलाई प्राथमिकतामा राखेर अगाडि बढेको बताउँदै उहाँले १३ औँ दक्षिण एसियाली खेलकुद (साग) का विजेता खेलाडीलाई दिइने पुरस्कारबापतको रकम मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेकाले खेलाडीले खेल कौशल प्रदर्शन गरेर नै जीवन निर्वाह गर्ने अवस्था आएको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, 'खेलाडीलाई मासिक भत्ता दिने कार्य एउटा सुरुवात हो । उहाँहरुलाई हौसला प्रदान गर्नका लागि बढीभन्दा बढी सुविधा र सम्मानको योजना सरकारले बनाएको छ । खेलाडीले खेलेर नै जीवन सुनिश्चित हुने अवस्था निर्माण हुँदैछ ।'
सहारा एकेडेमीले आफ्नो मेहनत र लगानी तथा देश विदेशबाट सहयोग जुटाएर फुटबल खेल विकास तथा सामाजिक क्षेत्रमा गरेको योगदानबाट गौरवको अनुभूति भएकाे उहाँले बताउनुभयाे । मन्त्री विश्वकर्माले एकेडेमी भवन तथा खेल मैदानका लागि सरकारले आवश्यक बजेट उपलब्ध गराउने विश्वास दिलाउनुभयो ।
एकेडेमीमा अहिले देशका विभिन्न १४ जिल्लाका २४ बालकले आवासीयरुपमा निःशुल्क स्वास्थ्य, शिक्षा तथा फुटबल प्रशिक्षण गर्दै आएका छन् ।
मन्त्री विश्वकर्माले मङ्गलबार नै पोखरा रङ्गशालाभित्र निर्माणाधीन अन्तर्राष्ट्रिय मापदण्डको फुटबल रङ्गशालाको निरीक्षण गर्दै अहिलेसम्मको कार्यप्रगतिका बारेमा जानकारी लिनुभएको थियो । साथै आगामी नवौँ राष्ट्रिय खेलकुदका लागि आवश्यक पूर्वाधारका बारेमा समेत उहाँले जानकारी लिनुभयो । पोखरा फुटबल रङ्गशालामा अहिलेसम्म ८५ प्रतिशत कार्य सम्पन्न भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।