बरामद सुन बाँडेर खाएकाे आराेपमा प्रहरी निरीक्षकसहित १६ प्रहरीलाई निलम्बन गर्न सिफारिस

 फागुन १५, २०७६ बिहिबार ६:४२:२१ | रासस
unn.prixa.net

काठमाण्डाै – नियन्त्रणमा लिएको सुन बाँडीचुडी खाएको आरोपमा सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेमप्रसाद नेपालसहित १६ प्रहरी कर्मचारीलाई निलम्बन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिफारिस गरेको छ ।   

चीनको केरुङबाट नेपाल आउँदै गरेको ना ६ ख ४९३२ नम्बरको कन्टेनर जाँच गर्ने क्रममा गएकाे पुस ११ गते चालक फुर्वा पासाङको साथबाट ४२२ ग्राम सुन फेला परेकाे थियाे र उनीहरुले चालकलाई छाडेका थिए । त्याे सुन आवश्यक कानुनी प्रक्रियाका लागि सम्बन्धित निकायमा बुझाउनुपर्नेमा आपसमा बाँडफाँड गरी लिएको आरोपमा आयोगले उनीहरुलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई सिफारिस गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।   

निलम्बनमा पर्नेमा प्रहरी नायब निरीक्षक भोजबहादुर सेन वली, प्रहरी सहायक निरीक्षक रामशरण कुमाल, प्रहरी हवलदारहरु रामशरण रिमाल, पुरुषोत्तम खत्री, रामकाजी लामा र गोपीबहादुर लो तामाङ रहेका छन् । यस्तै प्रहरी जवानहरु शिवनारायण चौधरी, युवराज खरेल, भविलाल रुम्बा लामा, रामचन्द्र विक, रिता चौधरी, मनोज आले, छेक्यु डोल्मा मोक्तान र ताराबहादुर प्रजा तथा प्रहरी कार्यालय सहयोगी हरिबहादुर श्रेष्ठ रहेका छन् ।   

उनीहरु पदमा बहाल रहँदा आफ्नो विरुद्धको प्रमाण लोप वा नास गर्न सक्ने वा अनुसन्धानमा बाधा पुर्‍याउन सक्ने भएकाले निलम्बन गर्न सिफारिस गरेको आयोगले जनाएको छ । 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया