राष्ट्रिय भलिबल : महिलातर्फ आर्मीकाे पहिलाे जित, पुरुषतर्फ हेल्...
चैत ६, २०८० मंगलबार
भाेजपुर – स्थानीयवासीबाट सुरक्षा खतरा बढेको भन्दै सप्तकोशी नदीमा बन्द भएको जल यातायातको रूपमा सञ्चालित जेटबोट (पानी जहाज) फेरि सञ्चालनमा आएको छ ।
स्थानीयवासीले राखेको रोजगारी र भाडामा सहुलियतको माग पूरा हुने भएपछि साना पानी जहाज सञ्चालनमा आएको हो । सप्तकोशी टुरिजम एण्ड वाटर ट्रान्स्पोर्टेशन प्रालीका सञ्चालक राजेन्द्र कार्कीका अनुसार नयाँ सहमतिअनुसार चतराबाट धनकुटाको साँघुरीगढी गाउँपालिकाको सङ्खुवासम्मको भाडा तीन सयबाट घटाएर दुई सय ५० कायम गरिएकाे छ ।
त्यस्तै चतराबाट शहीदभूमि गाउँपालिकाको त्रिवेणीसम्मको भाडा तीन सय ५० बाट तीन सय, चतराबाट हुतवागढी ९ हसनपुरको सिम्ले/हलेदे नदी किनार आसपासका स्थानीयको भाडा चार सय कायम गरिएकाे छ । अन्य क्षेत्रबाट आउने यात्रुको भाडा भने पहिलाकै यथावत् राखिएको छ ।
स्थानीयवासीले विभिन्न माग राख्दै जेटबोट सञ्चालनमा अवरोध गरेपछि झण्डै एक हप्तादेखि सेवा बन्द भएको थियो । स्थानीयवासीसँग सहमति भएपछि गएकाे सोमबारबाट नियमित सेवा सञ्चालनमा आएको हो ।
सप्तकोशी नदीमा चार वटा कम्पनीका सात वटा जेटबोट सञ्चालनमा छन् । याे ठाउँमा बिहान ७ बजेबाट साँझ ५ बजेसम्म प्रहरी चेक पोस्ट रहने सहमतिसमेत भएको छ ।