सुत्केरी महिलाको ज्यान गएपछि वीपी स्वास्थ्य प्रतिष्ठान तनावग्रस्त

 फागुन १५, २०७६ बिहिबार १५:७:३७ | रासस
unn.prixa.net

सुनसरी - सुत्केरी गराउन लगिएकी महिलाको ज्यान गएपछि सुनसरीको धरानमा रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तनावग्रस्त बनेको छ ।

चिकित्सकको लापर्वाहीका कारण इटहरीकी लक्ष्मी बुढाथोकी र उनको पेटमा भएको बच्चाको ज्यान गएकाे भन्दै आफन्तले अस्पताल प्रशासन घेराउ गरेका छन्।

बिहीबार बिहान १ः०० बजेतिर २८ वर्षीया लक्ष्मी बुढाथोकीको ज्यान गएको  हो। उहाँलाई गत फागुन १२ गते सुत्केरी गराउनका लागि प्रतिष्ठानको प्रसूति वार्डमा आफन्तले बेड भर्ना गरेका थिए । 

लामो समयसम्म सुत्केरी बेथा लाग्दा पनि समयमै अस्पतालले सुत्केरी नगराएकाले बच्चा पेटमै मरेको र आमाको पनि अस्पतालमै ज्यान गएकाे भन्दै मृतककाे आफन्त विराेधमा उत्रिएपछि अस्पतालकाे अवस्था तनावग्रस्त बनेकाे हाे । 

आमा र बच्चा दुवैको ज्यान गएको कारण प्रसूति गराउन ल्याइएकी बिरामीलाई समयमै चिकित्सकले नहेरेको तथा  लापरवाही गरेका कारण आमा बच्चा दुवैको ज्यान गएको मृतकका मामा ससुरा गणेश चौहानले बताउनुभयो । 

प्रतिष्ठानमा प्रसूति गराउन नसक्ने भए अन्त सिफारिस गर्नुको साटो त्यत्तिकै यहाँ राखिएका कारण आमा बच्चा दुवैको ज्यान भएको आफन्तले आरोप लगाएका छन् । बिहीबार बिहान मृतकका आफन्तलाई प्रतिष्ठान प्रशासनले वार्ताका लागि अडिटोरियम हलमा बोलाएको भए पनि प्रतिष्ठानका पदाधिकारी समयमै नआएका कारण वार्ता नभएको आफन्तले बताएका छन् । 

अहिले वार्ता भइरहे पनि वार्ताको पूरा विवरण आइसकेको छैन । वार्तामा प्रतिष्ठानका डा अर्चना ठाकुर, डा रोहित रिजालसहितको टोली छ भने मृतकका तर्फबाट आफन्त सहभागी रहेका बताइएको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया