१३ वर्षमा विवाह, १५ वर्षमा सन्तान

 फागुन २९, २०७६ बिहिबार १६:११:४८ | रासस
unn.prixa.net

सुनसरी - सुनसरीको कोशी गाउँपालिका-१ लौकहीको मुसहर बस्तीकी सोनुदेवी सदाको १४ वर्षको उमेरमा विवाह भयो । 

विवाह भएको एक वर्षपछि उहाँले पहिलो सन्तानका रुपमा छोरीलाई जन्म दिनुभयाे । अहिले सोनुकाे उमेर १७ वर्ष भयाे । उहाँकाे गर्भमा आठ महिनाको बच्चा छ।

मुसहर बस्तीकी आनन्दीदेवी ऋषिदेवको १३ वर्षकै उमेरमा विवाह भयो । विवाहको एक वर्षपछि उहाँको पहिलो सन्तानकाे रुपमा छोराको जन्मियाे । अहिले १६ वर्ष पुग्नुभएको उहाँकाे दुई वर्षीय छोरा छ ।

त्यसैगरी लौकही मुसहर बस्तीकै १८ वर्षीया कैली सदा डेढ वर्षीया छोरी र एक महिने छोराको आमा भइसक्नुभएको छ । उहाँको १३ वर्षकै उमेरमा विवाह भएको हो।

आनन्दीदेवी, कैली र  सोनुदेवी यस ठाउँका प्रतिनिधि पात्र हुन् । अहिले पनि सुनसरीको ग्रामीण क्षेत्रमा कम उमेरमा विवाह हुने र १८ वर्षको हुँदासम्म आमाबुबा हुने क्रम जारी छ । 

सुनसरीको दलित बस्तीमा जनचेतनाको अभाव, कम उमेरमा विवाह गर्दा आमा र बच्चालाई हुने असरलगायतका विषयमा प्रभावकारी रुपले जानकारी नहुँदा दलित बस्तीमा कम उमेरमै विवाह हुने गरेको छ ।

'विवाहवारि २० वर्ष पारि' लगायतका नारा सञ्चारमाध्यममा मात्र हैन यससम्बन्धी गोष्ठी, सभा र सम्मेलनमा घन्किन थालेको धेरै भैसक्यो । विवाह पनि २० वर्ष पूरा भएपछि मात्र गर्नुपर्ने कानुनी प्रावधान छ । तर पनि दलित बस्तीका बालबालिकालाई कानुनी प्रावधानले खासै असर पारेको देखिँदैन । 

 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया