अब बसभित्रै रक्तदान गर्न सकिने

 चैत २, २०७६ आइतबार १०:४८:५४ | रासस
unn.prixa.net

कास्की - नेपाल रेडक्रस सोसाइटी कास्कीले बसभित्रै रक्तदान गर्न सकिने सुविधा ल्याएको छ । रेडक्रसले रक्तसेवा सञ्चालनका लागि आवश्यक पर्ने अत्याधुनिक  बस सञ्चालनमा ल्याएको हो । 

रोटरी क्लब अफ अन्नपूर्ण पोखरा र कोरियन रोटरी क्लब, रोटरी क्लब अफ याङ्जुको संयुक्त लगानीमा शाखाले बस सञ्चालनमा ल्याएको हो । शाखाका सभापति डोलराज पाण्डेले शनिबारदेखि बसभित्र रगत सङ्कलन सुरु भएको  जानकारी दिनुभयाे । बसकाे लागत झण्डै एक करोड रुपैयाँ रहेकाे शाखाले जनाएकाे छ । 

बसभित्र रक्तदान गर्न आवश्यक सबै उपकरण जडान गरिएको छ । बसभित्र निदान शैय्या, फ्रिज र प्राथमिक उपचार सामग्रीसहितको बक्स, स्टाफ नर्स र अक्सिजनको व्यवस्थाका साथै रक्त सञ्चारसम्बन्धी सूचनामूलक सामग्री बसभित्र राखिएका छन् । 

बस सञ्चालनमा आएपछि पानी परेको बेला या प्रतिकूल मौसममा समेत रक्तदान कार्यक्रमलाई निरन्तरता दिन सकिने बताइन्छ । पोखरासँगै तनहुँको आबुखैरेनी, लमजुङको बेँसीशहर, स्याङ्जाको गल्याङ, पर्वत, बागलुङ, गोरख र  म्याग्दीसम्म बस पुगी रगत सङ्कलन गर्ने योजना बनाइएको छ । 

प्रदेशका ११ वटै जिल्लाबाट पोखरामा स्वास्थ्य सेवा लिन आउने सेवाग्राहीको चाप बढी हुने भएकाले रगतकाे माग बढेपछि घुम्ती बस उपयोगी हुने अपेक्षा गरिएको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया