पनौती टिप्पर दुर्घटना : कानुनी कारबाहीको माग, कर्फ्यु नहट्ने

 चैत ४, २०७६ मंगलबार १९:६:२६ | कपिल कोइराला
unn.prixa.net

काभ्रे - पनौतीमा सोमबार टिप्परकाे ठक्करबाट ज्यान गुमाएका आमा-छोरीका आफन्तले चालकलाई कानुन अनुसारको कारबाहीको माग गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय धुलिखेलमा भएको छलफलमा मान्छे मारेपछि क्षतिपूर्ति लिएर चालकलाई उन्मुक्ति दिनेभन्दा पनि चालकलाई कडाभन्दा कडा कारबाहीको माग गरेका छन् ।

प्रशासनले पीडितको माग अनुसार कारबाही गर्ने र व्यवसायीले कानुन अनुसारको क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएपछि आफन्तले शव बुझेका छन् ।

 

प्रशासनले प्रतिबद्धता जनाएसँगै शव परीक्षण गरिएको छ । रोजगारीको सिलसिलामा मलेसियामा रहेका मृतकका श्रीमान छिरिङ भ्लोन मलेसियाबाट बुधबार नेपाल फर्किएलगत्तै शव बुझेर अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

 

साेमबार पनौतीबाट खोपासीतर्फ जाँदै गरेको बा.५.ख ५४८० नम्बरको टिपरको ठक्करबाट पनौती बसपार्कमा खानीखोला १ की ३३ बर्षीय जुनिमाया गोले र उनकी ३ वर्षीया छोरी स्मारिका भ्लोनको ज्यान गएको थियो ।

कर्फ्यु जारी

प्रहरी र स्थानीयबीचको झडपमा प्रहरी सहित केही स्थानीय घाइते भएपछि प्रशासनले मंगलबार बिहान ९ बजे देखि लगाएको कर्फ्यु तत्काल नहट्ने प्रशासनले जनाएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले वस्तुगत स्थितिविश्लेषण गरेर मात्रै कर्फ्यु हटाइने जानकारी दिनुभयो ।

कर्फ्युका कारण मंगलबार पनौती क्षेत्रभित्रका सबै विद्यालयमा कक्षा ८ को नगरस्तरीय र अन्य केही विद्यालयमा अन्य तहको परीक्षा समेत हुन सकेन ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

कपिल कोइराला

काभ्रेमा बसेर पत्रकारिता गर्ने कपिल कोइराला उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया