यूएईले सात मेट्रिक टन स्वास्थ्य सामग्री नेपाल पठायो

 बैशाख १७, २०७७ बुधबार १८:८:४३ | उमाकान्त पाण्डे

यूएई – संयुक्त अरब एमिरेट्स यूएईले नेपाललाई सात मेट्रिक टन स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ । सहयोग सामग्रीसहितको जहाज यूएईले बुधबार नेपाल पठाएको हो । सहयोग सामग्री कोरोना उपचारमा खटिएका ७ हजार चिकित्सकहरुलाई पुग्ने यूएईले जनाएको छ ।

यूएईले प्रदान गरेको स्वास्थ्य सुरक्षा सामग्री सहितको जहाज बुधबार नै नेपाल पुगेको यूएईका लागि नेपाली राजदुत कृष्णप्रसाद ढकालले उज्यालोलाई जानकारी दिनुभयो ।

नेपालका लागि यूएईका राजदूत सईद हमदान अल नकबीले अहिलेको महामारीको सामना गर्ने सबै देशहरूलाई सक्दो सहयोग गर्ने योजनाअनुरुप नेपाललाई सहयोग प्रदान गरिएको बताउनुभएको छ । सहयोगको माध्यमबाट एकजुट भए मात्रै संकटबाट बाहिर जान सकिने उहाँको भनाइ छ ।

यूएईले नेपालसहित ३२ देशमा ३ सय ३३ मेट्रिक टन मेडिकल सामग्री सहयोग गरिसकेको छ । त्यो सहायताले कोरोनाको लडाईंमा अग्रपंक्तिमा बसेर काम गर्ने ३ लाखभन्दा बढी चिकित्सकलाई सहयोग पुग्ने यूएईको अपेक्षा छ ।

यूएईले नेपाललाई देखाएको सद्भाव र सहयोगप्रति नेपाल सरकार तथा आबुधावीमा रहेको नेपाली दूतावासले धन्यवाद व्यक्त गरेको छ ।

 

अन्तिम अपडेट: बैशाख ५, २०८१

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

1 Comments

  • Prameet Subba

    April 30, 2020, 12:07 p.m.

    नेपालीले यो सामान पाउँछ /

  •  0 Reply

तपाईको प्रतिक्रिया