भक्तपुरमा भएकाे छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको ज्यान गयो

 असार १, २०७७ सोमबार १६:१७:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर - मध्यपुरथिमिको बोडे र कमलविनायकमा भएको छुट्टाछुट्टै दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । 

भक्तपुर नगरपालिका–१० कमलविनायक भत्केकोपाटीमा बा. ९५ प. १४५५ नं. को मोटरसाइकल अनियन्त्रित भएर सडकको नालीमा खसेको हो । दुर्घटनामा परेर मोटरसाइकल चालकको ज्यान गएको छ । 

महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीकाअनुसार गएराति भएको  दुर्घटनामा गम्भीर घाइते भएका कमलविनायक बस्ने १७ वर्षीय रञ्जित माहाजुको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचारको क्रममा ज्यान गएको हो । उनलाई भक्तपुर अस्पतालमा उपचार हुन नसकेपछि विर अस्पताल रिफर गरिएको थियो ।  मोटरसाइकल ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । 

त्यसैगरी मध्यपुरथिमि नगरपालिका ९ बोडेमा बा. ५ ख. ४३११ नं.को पानीको ट्याङ्करले बा. ९२ प. ७०७७ नं.को स्कुटरलाई ठक्कर दिँदा भएकाे दुर्घटनामा स्कुटर पछाडि रहेकी काठमाण्डौ कागेश्वरी मनोहरा बस्ने ४५ वर्षीया लक्ष्मी कार्कीको ज्यान गएको छ ।  

दुर्घटनामा गम्भीर घाइते भएकी कार्कीलाई नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल थिमिमा उपचार हुन नसकेपछि अन्नपूर्ण न्यूरो अस्पतालमा रिफर गरिएकाे थियाे । उनकाे उपचारको क्रममा ज्यान गएको नायब उपरीक्षक गिरीले जानकारी दिनुभयो । 

प्रहरीले ट्याङ्कर चालक रामेछाप मन्थली ३ घर भई अहिले भक्तपुर बस्ने ४१ वर्षका राजकुमार खत्री र दुई सवारी साधनलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको उहाँले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया