सतर्कता अपनाएर पर्यटन व्यवसाय सञ्चालन गर्नुपर्छ : नेपाल पर्यटन बाेर्डका सीईओ रेग्मी

 साउन १७, २०७७ शनिबार १९:४५:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल पर्यटन बोर्डको कार्यकारी अधिकृत (सीईओ) डा. धनञ्जय रेग्मीले सतर्कता अपनाएर पर्यटन व्यवसाय सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । 

विश्वव्यापी बनेको कोरोना भाइरसका कारण धरासायी बनेको पर्यटन क्षेत्रलाई सुरक्षा मापण्ड अपनाएर अगाडि बढाउनुपर्ने डा. रेग्मीले बताउनुभयो ।

१४ दिनसम्म क्वरेण्टीनमा बस्ने गरी कुनै पनि पर्यटन नआउने कुरालाई मध्यनजर गर्दै द्रुत गतिबाट कोरोना परीक्षण गर्ने वातावरण बनाउनुपर्ने उहाँको भनाई छ । द्रुत गतिमा कोरोना परीक्षण गरी ३ दिन होल्डिङ सेन्टरमा राख्ने र कुनै लक्षण नदेखिए घुम्न पठाउने व्यवस्था मिलाउनुपर्ने उहाँले बताउनुभयो ।

चाइनीज टुर अपरेटर्स एलाएन्स नेपाल घोषणा कार्यक्रममा उहाँले भन्नुभयो, ‘द्रुत गतिमा कोरोना परीक्षण गरी ३ दिन होल्डिङ सेन्टरमा बस्न लगाउने , लक्षण नदेखिएमा घुम्न पठाउने । १४ दिन यता १४ दिन आफ्नो देश फर्केर क्वरेण्टीनमा बस्नुपर्ने अवस्थामा कसरी घुम्न आउँछन पर्यटक ?’

नेपाल र चीनबीचको दौत्य सम्बन्ध कायम भएको ६५ वर्ष पुगेको अवसरमा चाइनीज टुर अपरेटर्स एलाएन्स अफ नेपाल घोषणा भएको छ । नेपालमा आउने चिनियाँ पर्यटकहरुलाई प्रदान गरिदै आएका सेवाहरुलाई प्रभावकारी बनाउने उद्देश्यले एलाएन्स घोषणा गरिएको हो ।

२५ जना सदस्य रहेको एलाएन्सले विगतमा चिनियाँ व्यवसाय सञ्चालनको क्रममा भएका कमी कमजोरीलाई सच्याउँदै अगाडि बढ्ने उद्देश्य राखेको छ । नेपाली टुर एण्ड ट्राभल्स व्यवसायीहरुको छाता संस्थाको रुपमा गठन गरिएको एलाएन्सको संयोजकमा बिश्वेस श्रेष्ठ रहनुभएको छ ।

अन्य बोर्ड सदस्यहरुमा बरुण मेहता, कल्याण राज शर्मा, पुष्कर राज पाठक र हरि प्रसाद पराजुली रहनुभएको छ । 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया