अझै खुल्न सकेनन् पहिरोका कारण अवरुद्ध १८ सडकखण्ड

 साउन २०, २०७७ मंगलबार ८:४५:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - बाढी पहिरोका कारण अवरुद्ध १८ वटा सडकखण्ड लामो समयसम्म पनि खुलेको छैन ।

कतै ठूलो पहिरो खसेर तथा कतै निर्माण सामग्री पुर्याउन नसक्दा अवरुद्ध सडक खुलाउन नसकिएको सडक विभागका सूचना अधिकारी अर्जुन सुवालले बताउनुभयो । 

उहाँका अनुसार ६१ वटा सडकखण्ड भने एकतर्फी रुपमा आलोपालो गरी सञ्चालन भइरहेका छन् । केही सडकखण्ड पानी पर्न कम भएपछि खुलाउने गरे पनि फेरि पानी पर्न थालेपछि बाढी, पहिरोलगायतका कारणले अवरुद्ध हुने गरेको छ ।

साँफेबगर-मार्तडी सडकखण्ड झण्डै एक महिनादेखि बन्द छ । गएको असार २५ गते बुढीगङ्गा नदीले कटान गरेपछि अवरुद्ध भएको यो सडकखण्ड खुलाउन अझै कति समय लाग्छ भन्ने यकिन नभएको सडक विभागले जनाएको छ । 

यस्तै पहिरोका कारण अवरुद्ध बेनी-जोमसोम-कोरोला सडकखण्ड पनि सञ्चालनमा नआएको पनि झण्डै १ महिना हुन लागेको छ । म्याग्दीको दाना र गलेश्वर क्षेत्रमा पहिरो खस्दा र बेलिब्रिज बगाउँदा यो सडकखण्ड गएको असार २६ गतेदेखि अवरुद्ध भएको हो । यो सडकखण्डको अम्कोट-ताप्रीसेरा-घट्टेखोलालगायतका ठाउँमा पहिरोसमेत गएको छ ।

ठाउँ-ठाउँमा पहिरो गएपछि साउन ६ गतेदेखि अवरुद्ध महाकाली राजमार्ग अन्तर्गत सतबाँझ-दार्चुला सडकखण्ड पनि खुल्न सकेको छैन । ठाउँ-ठाउँमा पहिरो गएपछि अवरुद्ध कान्ति लोकपथ पनि लामो समयदेखि खुलेको छैन। 

साउन ४ गतेदेखि बेनी-जोमसोम-कोरोला सडकखण्ड अन्तर्गतको नच्र्यागं-रुप्से-खहरेखोला-काइकुखोला-घासा-लेते सडकखण्ड अवरुद्ध छ । ठाउँ-ठाउँमा पहिरो जाँदा र सडक भासिँदा यी सडकखण्ड अवरुद्ध भएका हुन् । 

यस्तै पहिरोका कारण अवरुद्ध रसुवागढी नाका जोड्ने सडक पनि ठप्प नै छ ।  

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया