प्रधानमन्त्री र विज्ञबीच छलफल : दुई हप्ता लकडाउन गर्नेदेखि कर्फ्यु लगाउनेसम्मकाे सुझाव

 साउन २०, २०७७ मंगलबार १७:२५:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाै उपत्यकासहित देशभरि नै कोरोना भाइरसको सङ्क्रमणदर बढ्न थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जनस्वास्थ्य विज्ञ र सरोकारवालाहरुसँग छलफल गर्नुभएको छ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा विज्ञहरुले दुई हप्ता लकडाउन बढाउनेदेखि कर्फ्यु लगाउनुपर्नेसम्मका सुझाव दिएका छन् । जनस्वास्थ्य विज्ञ डाक्टर रवीन्द्र पाण्डेले समुदायस्तरमै एक व्यक्तिबाट अर्को व्यक्तिमा सङ्क्रमण फैलिने दर बढेकाले १५ दिन कडा खालको लकडाउन गर्नुपर्ने सुझाव प्रधानमन्त्रीलाई दिइएको बताउनुभयो ।

सुरुमा भारतलगायत तेस्रो देशबाट आउनेहरुमा सङ्क्रमण देखिने गरेकोमा पछिल्लो समय नेपालमै बस्ने एक व्यक्तिबाट अर्को व्यक्तिमा सङ्क्रमण फैलिरहेकाले १५ दिन कडा लकडाउन गरी स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ अपनाउने गरी अगाडि बढ्नुपर्ने पाण्डेले बताउनुभयाे । 

केही विज्ञहरुले भने लकडाउन मात्रै महामारी नियन्त्रणको एकमात्रै उपाय नभएकोले सङ्क्रमण देखिएका निश्चित ठाउँहरु सिल गरी सीमा नाकामा कडाइ गर्नुपर्ने सुझाव दिएका छन् ।

अर्का जनस्वास्थ्यविज्ञ डाक्टर समीरमणि दीक्षितले लकडाउन गरेर कोरोना पूर्णरुपमा नियन्त्रणमा नआउने भएकाले बढी सङ्क्रमण फैलिएको क्षेत्रमा कडाइ गर्नुपर्ने सुझाव प्रधानमन्त्रीलाई दिइएको बताउनुभयो । स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाए अवस्था भयावह हुने उल्लेख गर्दै उहाँले सबैका सल्लाह सुझावअनुसार प्रधानमन्त्रीले उचित निर्णय लिने विश्वास व्यक्त गर्नुभयो ।

नेताहरु शेरबहादुर देउवा, महन्थ ठाकुर, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष लगायत जनस्वास्थ्य विज्ञ सहभागी छलफलपछि प्रधानमन्त्री ओलीले सुझावहरु कार्यान्वयन प्रक्रियामा लैजाने बताउनुभयो ।

प्रधानमन्त्रिका प्रेस सल्लाहका सूर्य थापाका अनुसार स्वास्थ्य मन्त्रालय, सीसीएमसी र मन्त्रिपरिषदमा छलफल गरेर ठाेस कदम चाल्ने प्रधानमन्त्रीले  प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

अन्तिम अपडेट: चैत ५, २०८०

1 Comments

  • Suresh Kumar Sah

    Aug. 5, 2020, 1 p.m.

    यो लागु हुनुभन्दा सरकारले पिसिआर टेस्टको उचित व्यवस्था गर्नुपर्छ र चांडो भन्दा चांडो लकडाउन खुकुलो बनाउनुपर्छ, नत्र देशमा धेरै गरीब छन् जसले एक छाक टार्नको लागि काम गर्नु पर्छ / त्यसैले सरकार तपाईंले यसको उचित व्यवस्था मिलाउनुपर्दछ /

  •  0 Reply

तपाईको प्रतिक्रिया