नेकपाभित्रको विवाद फेरि सतहमा, नेताहरु ‘निम्छरा’ टिप्पणीमा सक्रिय

 साउन २३, २०७७ शुक्रबार १४:५४:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद फेरि बल्झिएको छ । केही दिनअघि दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल सुरु भए पनि फेरि कुराकानी हुन छाडेको छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले गएको साउन १३ गतेको स्थायी कमिटी बैठक स्थगित गर्नु भएसँगै दुई अध्यक्षबीच संवाद नै बन्द भएको थियो । त्यसकाे एक हप्तापछि संवादहिनता तोड्दै साक्षी राखेर दुई अध्यक्षबीच छलफल सुरु भएको भनिए पनि अहिले फेरि कुराकानी हुन छाडेको हो ।

यसैबीच नेकपाभित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला नेताहरुबीच घोचपेच र टीकाटिप्पणी पनि बढ्न थालेको छ । शुक्रबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीका मुख्य सल्लाहकार विष्णु रिमालले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई प्रवक्ता पदको लाज जोगाउन आग्रह गर्नुभएको छ ।

रिमालले ट्वीटमार्फत नारायणकाजी श्रेष्ठलाई मेन्सन गर्दै प्रवक्ता पदको लाज जोगाउन र विधि र पद्धतिको नक्कली गीत गाउँदै नेताहरुलाई गुटबन्दीको आगोमा पोल्ने उत्तोलक नबन भन्नुभएको छ । उहाँले पार्टी एकताविरुद्ध कुनै पनि गतिविधि कतैबाट नहोस् भन्दै देश संवेदनशील मोडमा रहेकोले त्यो महसुस गर्न पनि आग्रह गर्नुभएको छ ।

यस्तै नेकपाका प्रेस सल्लाहकार सूर्य थापाले पनि सामाजिक सञ्जाल फेसबुकमार्फत नेकपा विभाजन र समाप्त पार्ने खेल भइरहेको बताउनुभएको छ । उहाँले १० वर्षअघिकाे धाेबीघाट गठबन्धन जस्तै गरेर अहिले खुमलटार गठबन्धन भइरहेकाे बताउनुभएकाे हाे । ​

१० वर्षअघि तत्कालीन माओवादी विघटन गराउन धोबीघाट गठबन्धन बनाएजस्तै नेकपा विघटन गराउन अहिले खुमलटार गठबन्धन बनाइएको उहाँले आरोप लगाउनुभएकाे हाे ।

 

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया