खाडी र मलेसियाबाट २४६ नेपालीको शव ल्याइयो, १७२ जनाको विदेशमै अन्त्येष्टि

 साउन २३, २०७७ शुक्रबार १६:३७:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – स्वदेश फिर्ती उडान सुरु भएसँगै खाडी र मलेसियाबाट २४६ नेपालीको शव नेपाल ल्याइएको छ ।

गएको जेठ ३२ गतेदेखि विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्ती सुरु भएसँगै शव पनि ल्याउन थालिएको हो । वैदेशिक रोजगार बोर्डका अनुसार कोरोना महामारी सुरु भएयता विदेशमा ज्यान गुमाएका ४९४ मध्ये २४६ नेपालीको शव चार्टर्ड उडानमार्फत स्वदेश ल्याइएको छ ।

लकडाउन सुरु भएदेखि अहिलेसम्मको अवधिमा खाडी र मलेसियासहित अन्य देशमा १५ महिला र ४७९ पुरुष गरी ४९४ जना नेपालीको विभिन्न कारणले ज्यान गएको थियो । अन्तर्राष्ट्रिय उडान बन्द भएर शव ल्याउन नपाएपछि कतिपय मृतकका आफन्तले भने परदेशमै सदगतका लागि अनुमति दिएका छन् । आफन्तको सहमतिमै १७२ जना नेपालीको गन्तव्य देशमै अन्त्येष्टि गरिएको बोर्डले जनाएको छ ।

अब खाडी र मलेसियासहित विभिन्न देशमा ७६ नेपालीको शव बाँकी छ । कोरोना सङ्क्रमण रोकथामका लागि सरकारले अन्तर्राष्ट्रिय उडान रोकेपछि विशेषगरी धेरै नेपाली कार्यरत खाडीका देश र मलेसियामा नेपालीको शव पनि रोकिएको थियो । गएको जेठ ३२ गतेदेखि सरकारले लकडाउनकै बीचमा विभिन्न देशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि चार्टर्ड उडान पठाउन थालेपछि भने त्यही जहाजमा नेपालीका शव पनि ल्याउने गरिएको हो ।

कुन देशबाट कति शव आए, कति बाँकी ?

यो अवधिमा सबैभन्दा धेरै साउदीमा नेपालीको ज्यान गएको छ । साउदीमा मात्रै यो अवधिमा १७३ जना नेपालीले ज्यान गुमाएका छन् । यसमध्ये ७७ जना नेपालीको शव नेपाल ल्याइएको छ । लामो समयसम्म आफन्तको शव कुर्नुपर्दा ४० जना मृतकका आफन्तले भने साउदीमै अन्त्येष्टिका लागि अनुमति दिएकाले उतै अन्त्येष्टि गरिएको छ । साउदीमा मात्रै अझै ५६ जना नेपालीको शव स्वदेश ल्याउन बाँकी छ ।

यस अवधिमा साउदीपछि सबैभन्दा धेरै मलेसियामा नेपालीले ज्यान गुमाएका छन । मलेसियामा ज्यान गुमाएका ९२ नेपालीमध्ये ८४ जना नेपालीको शव नेपाल ल्याइएको छ भने ८ जनाको शव उतै अन्त्येष्टि गरिएको छ । मलेसियापछि ज्यान गुमाउने नेपालीको सङ्ख्या धेरै यूएईमा छ । यूएईमा यो अवधिमा ८३ जना नेपालीको ज्यान गएको छ । ज्यान गुमाउनेमध्ये १८ नेपालीको शव स्वदेश ल्याइएको छ भने ६० जनाको यूएईमै अन्त्येष्टि गरिएको छ । यूएईमा अब ५ जना नेपालीको शव बाँकी छ ।

यूएईपछि ज्यान गुमाउने नेपालीको सङ्ख्या कतारमा धेरै रहेको छ । कतारमा यो अवधिमा ७७ जनाको ज्यान गएको छ । उनीहरुमध्ये ४९ जनाको शव स्वदेश ल्याइएको छ भने २७ जनाको उतै अन्त्येष्टि गरिएको छ । कतारमा अब १ जना नेपालीको शव बाँकी रहेको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।

कतारपछि खाडीको अर्को देश कुवेतमा २५ नेपालीले यो अवधिमा ज्यान गुमाएका छन् । ज्यान गुमाएकामध्ये १० नेपालीको शव स्वदेश ल्याइएको छ भने १३ जनाको कुवेतमै अन्त्येष्टि गरिएको छ । कुवेतमा अब २ नेपालीको शव बाँकी रहेको छ । खाडीकै अर्को देश बहराइनमा यस अवधिमा ११ नेपालीको विभिन्न कारणले ज्यान गएको छ । यसमध्ये विभिन्न चार्टर्ड उडानले ६ शव स्वदेश ल्याएका छन् भने ४ जनाको बहराइनमै अन्त्येष्टि गरिएको छ । बहराइनमा अब एक शव बाँकी रहेको छ ।

ओमानमा भने यो अवधिमा दुई जनाले ज्यान गुमाएका छन् । दुईमध्ये १ जनाको ओमानमै अन्त्येष्टि गरिएको छ भने एक नेपालीको शव स्वदेश ल्याइएको छ । यसैगरी नेपालीको आकर्षक रोजगारीको गन्तव्य दक्षिण कोरियामा यो अवधिमा ८ नेपालीले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमध्ये ५ जनाको कोरियामै अन्त्येष्टि गरिएको छ । एक जनाको शव स्वदेश ल्याइएको छ भने ३ जनाको शव त्यहाँ बाँकी रहेको बोर्डले जनाएको छ ।

रोजगारीका लागि अरु देशमा पुगेका २३ नेपालीले पनि यस अवधिमा ज्यान गुमाएका र उनीहरुमध्ये १४ जनाको सम्बन्धित देशमै अन्त्येष्टि गरिएको छ भने ९ जनाको शव बाँकी रहेको बोर्डले जनाएको छ । खाडीका ६ देश मलेसिया र अन्य विभिन्न देशमा गरी अब ७६ जना नेपालीको शव बाँकी रहेको छ । यी शव पनि नेपाली लिन गएका जहाजले क्रमशः ल्याउने बोर्डले जनाएको छ ।

शव ल्याउन ढिलो हुँदा आफन्तले सम्बन्धित देशमै अन्त्येष्टिको लागि अनुमति दिने क्रम पनि भैरहेको बोर्डले जनाएको छ । आफन्तको शव कुरिरहेकाको हकमा भने मिलेसम्म सक्दो छिटो शव स्वदेश ल्याउनका लागि बोर्ड र सम्बन्धित देशमा रहेका नेपाली नियोगबीच समन्वय भैरहेको छ ।

नेपाल ल्याइएका शव बोर्डले निःशुल्क घरसम्म पुर्याउने गरेको छ । आफन्त शव बुझ्न काठमाण्डौसम्म आउन नसकेको अवस्थामा बोर्डले नै विमानस्थलमा शव बुझेर घरसम्म लगिदिने गरेको हो ।

अन्तिम अपडेट: फागुन २८, २०८०

तपाईको प्रतिक्रिया