काठमाण्डौ उपत्यकाका पालिकामा अत्यावश्यक बाहेकका सबै सेवा ३ हप्ता बन्द

 साउन २६, २०७७ सोमबार १८:३६:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ उपत्यकाभित्रका पालिकाहरुले अत्यावश्यक बाहेकका सबै सेवा तीन हप्ताका लागि बन्द गर्ने निर्णय गरेका छन् । काठमाण्डाै उपत्यकाभित्र रहेका नगरपालिकाका मेयरहरुको सङ्गठन ‘नगरपालिका मेयर फोरम’ को सोमबार बसेको बैठकले तीन हप्ताका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको हो ।

बैठकपछि निर्णय सुनाउँदै मध्यपुर ठिमी नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठले उपत्यकाभित्र समुदायस्तरमा सङ्क्रमणको उच्च जोखिम देखिएकोले भिडभाड कम गर्न अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय भएको बताउनुभयो । बैठकले सार्वजनिक यातायात पूर्णरुपमा सञ्चालन भएपछि सङ्क्रमण तीव्र गतिमा फैलिएको भन्दै सार्वजनिक यातायात सञ्चालनमा भदौ १५ गतेसम्म फेरि रोक लगाउन सरकारलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

यस्तै कलकारखाना, उद्योग धन्दा, निर्वाध रुपमा सञ्चालन भइरहँदा सङ्क्रमणको जोखिम बढेकोले उद्योग तथा कलकारखानाभित्रै क्वरेण्टीनकाे व्यवस्था गर्ने र स्वास्थ्य मापदण्ड पूरा गरेपछि मात्रै सञ्चालन गर्न दिने निर्णय गरेको छ । यसैगरी सामाजिक सुरक्षा भत्ता प्रायोजनको लागि नवीकरण गर्ने म्याद साउन मसान्तसम्म रहेकोमा असोज मसान्तसम्म कायम गर्न, उपत्यका प्रवेश गर्ने प्रस्थान बिन्दुमा कडाइ गर्न र एकीकृत क्वरेण्टीन सङ्घीय सरकारले सञ्चालन गर्ने र पालिकाले व्यवस्थापनमा सहयोग गर्ने गरी तयारी गर्न सरकारलाई अनुरोध गर्ने निर्णय पनि मेयरहरुले गरेका छन् ।

फोरमले सङ्क्रमण फैलन सक्ने अवस्थालाई ध्यान दिएर सरकारको समर्थन वा विरोधमा र्‍याली, भेला, अनसन, जुलुसलगायतका गतिविधि गर्न कडाइका साथ निषेध गर्ने र भिड हुने साँस्कृतिक गतिविधि जात्रा पर्व सञ्चालनमा रोक लगाउन सरकारलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ । यस्तै मास्क नलगाइ आवत जावत गर्न तथा मास्कलाई उपयुक्त रुपमा प्रयोग नगर्नेहरुलाई कारबाही गर्ने विषयमा समन्वय गर्ने निर्णय पनि फोरमले गरेको छ ।

व्यापारिक क्षेत्र तथा सपिङ मल, होटल, रेस्टुरेन्ट आदिमा कोरोना सङ्क्रमणको उच्च जोखिमयुक्त क्षेत्र रहेकोले उच्च सतर्कता मापदण्डलाई कडाइका साथ पालना गर्नुपर्ने र नियमित अनुगमन गरी कारबाही गर्ने मेयर फोरमले जनाएको छ ।

अनाधिकृत रुपमा उपत्यका प्रवेश गरेका निर्माण कार्यका मजदुर, ठेलागाडा, साइकल, फुटपाथ, तरकारी व्यापार गर्न आएकाहरु बढी देखिएको भन्दै तरकारी व्यापारलाई साँझ/बिहान मात्र सञ्चालन गर्न दिने र निर्माण कार्य, फुटपाथ, ठेलागाडा, साइकलमार्फत गरिने व्यापारलाई भदौ १५ गतेसम्मको लागि निषेध गर्ने निर्णय पनि बैठकले गरेको छ । 

अन्तिम अपडेट: माघ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Santosh Kumar Shrestha

    Aug. 13, 2020, 9:22 a.m.

    राम्रो र खुशी लाग्यो /

  •  0 Reply

तपाईको प्रतिक्रिया