स्वास्थ्य मन्त्रीकाे शुभकामना सन्देश : आलाेचना गर्नेहरुकाे मति सप्रियाेस्

 साउन २७, २०७७ मंगलबार १४:५:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले सरकारको आलोचना गर्नेहरुको मति सप्रियोस् भन्दै शुभकामना दिनुभएको छ । 

उहाँले पार्टीभित्र र बाहिरबाट मति बिग्रिएकाहरुले कोभिड–१९ रोकथाम तथा नियन्त्रणको कार्यमा आलोचना गरेका भन्दै श्रीकृष्ण जन्माष्टमीको अवसरमा सबैको मति सप्रियोस् भन्ने शुभकामना दिनुभएको हो ।

मङ्गलबार थापाथलीमा रहेकाे परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६१ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मति बिग्रिएर सरकारको आलोचना गर्ने सबैलाई महामारीविरुद्ध लड्न मति सप्रियोस् भन्दै शुभकामना दिनुभएको हो । उहाँले भन्नुभयो, ‘आजको यो कृष्णाष्टमीको दिन मति बिग्रिएकाहरुका लागि पनि यो महामारीका विरुद्ध लड्नका निमित्त मति सुध्रियोस् भन्ने शुभकामना दिन चाहन्छु । चाहे ती मेरा घरभित्र बसेका हुन्, चाहे ती मेरा छिमेकमा बसेका व्यक्तिहरु हुन् । सरकारको आलोचना गरेर लडाइँका अभियानमा लागेका योद्धाहरुको खुट्टा तानेर त्यसले कुनै राष्ट्र निर्माण गर्ने कुरामा र महामारीलाई कमजोर बनाउनका निम्ति योगदान पुर्‍याउन सक्दैन ।’

उहाँले महामारीबाट बाँचियो भने सत्ताको लडाइँ फेरि पनि खेल्न सकिने भन्दै सकारलाई सघाउन नेताहरुलाई आग्रह गर्नुभयो । सरकारलाई जनताले पाँच वर्षको म्यान्डेट दिएकाले पाँच वर्षपछि नै सत्ताको खेलमा लाग्नसमेत आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘बाँचियो भने सत्ता प्राप्ति गर्ने लडाइँ फेरि पनि खेल्न सकिन्छ । किनभने सत्ताका निमित्त लड्ने यो नै अन्तिम युद्ध होइन । पाँच वर्ष जनताले म्यान्डेट दिएकै छन् । म्यान्डेटपछि त्यो खेलमा लाग्दा खेरी पनि केही बिग्रिँदैन । स्थिरताको नारा दिएर अस्थिरताको योजना बनाएर हिँड्ने मित्रहरुलाई पनि म आग्रह गर्न चाहन्छु बेलाअनुसार हाम्रा वचन र व्यवहार गरिएन भने जनताले त्यही ढङ्गले हामीलाई निगरानी गरिराखेका हुन्छन् । जनताको नजरमा हामी परीक्षामा नै छौँ । सबैले जनताबाटै उत्तीर्ण हुनुपर्छ भन्ने कुरालाई मध्यनजर राखेर नै हामीले काम गर्न सकियो भने हामी यो लडाइँलाई सहजतापूर्वक समाधान गर्न सक्छौँ ।’

उहाँले कोरोना रोकथामका लागि सरकारको विरोध विभिन्न तरिकाबाट हुने गरेको बताउनुभयो । कुनै बेला पीपीई भएन भने सामूहिक राजीनामा दिन्छौँ भन्नेहरु अहिले चुप लागेको बताउनुभयो । त्यस्तै गीतबाट समेत सरकारको आलोचना गरिएको तर अहिले त्यसको जवाफ सरकारले दिइसकेको बताउनुभयो । अहिलेसम्म पीपीई र पीसीआरको गीत आएको र अब ती चल्न छाडेपछि औषधि र भेन्टिलेटरका गीत आउने बताउनुभयो । जस्तोसुकै गीत आए पनि त्यसको जवाफ सरकारले सिद्धान्तबाट नभइ व्यवहारबाट दिने प्रष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘गीतहरु बदली बदली आउने छन् । एक जमाना थियो पीपीई भएन भने हामी राजीनामा दिन्छौं भन्ने थियो । अब त्यसको अभाव छैन भनेपछि अहिले त्यसको गीत बजेन, त्यसपछि पीसीआर परीक्षणको गीत आयो । अब औषधिको आउने छ र भेन्टिलेटरको गीतहरु आउने छन् । ती गीतका भाकाहरुलाई पनि कसरी समाधान गर्नुपर्छ भन्ने विषयमा सिद्धान्तमा होइन व्यवहारमा जवाफदेहिताका साथ जनताको स्वास्थ्यको सुरक्षा गर्ने जिम्मेवारी अहिले नेपाल सरकारले लिएको छ ।’

मन्त्री ढकालले नेपालमा अहिले पनि कोरोना सङ्क्रमणको स्थिति नियन्त्रणमै रहेको बताउनुभएको छ । सङ्क्रमणको अवस्था समुदायस्तरमा देखिए पनि नियन्त्रणकाे स्थितिमा नै रहेकोले आत्तिनुनपर्ने बताउनुभयो । अन्य देशहरुकाे तुलनामा पनि नेपालमा सङ्क्रमण नियन्त्रणका लागि गरिएका कार्यहरु प्रभावकारी भएको बताउनुभयो । महामारीको अप्ठ्येराे अवस्थामा सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारलाई सकारात्मक र रचनात्मक सहयोग गर्न सबै पक्षलाई आग्रहसमेत गर्नुभयो ।  

अन्तिम अपडेट: बैशाख ६, २०८१

1 Comments

  • टेकलाल भुसाल

    Aug. 11, 2020, 4:28 p.m.

    पदमा बसेर जनताकाे आवाज सुन्न सक्नेलाई काठमाडौं देखि सिधा रांची लैजानकाे लागि बस सेवा सुचारु गरियाेस्।

  •  0 Reply

तपाईको प्रतिक्रिया