ओली र प्रचण्डबीच ४ घण्टादेखि छलफल, तीन जना नेता पनि बालुवाटारमै

 साउन २९, २०७७ बिहिबार १४:५५:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच चार घण्टादेखि छलफल चलिरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच छलफल चलिरहेको प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिनुभयो । अध्यक्ष प्रचण्ड ११ बजे बालुवाटार पुगेपछि दुई नेताबीच छलफल भइरहेको हो ।

दुई अध्यक्षको छलफल चलिरहँदा बालुवाटारमै नेकपाका महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य शङ्कर पोखरेल र जनार्दन शर्माबीच पनि छलफल भइरहेको छ । उहाँहरु कुनै बेला अध्यक्षसहितको बैठकमा पुगेर छलफल गरेको र कुनै बेला आफू–आफूमै छलफल गरिरहेको पनि सल्लाहकार बजगाईंले जानकारी दिनुभयो । दुई अध्यक्षबीच भइरहेका कुरालाई तीन नेताले सहमतिको मस्यौदाका रुपमा तयार गर्नेछन् ।

बुधबार प्रधानमन्त्री ओलीले एक टेलिभिजन अन्तर्वार्तामा पाँच दिनभित्र नेकपाभित्रको विवाद समाधान हुने दाबी गरेको भोलिपल्ट नै छलफल हुनुलाई महत्त्वका साथ हेरिएको छ । 

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले स्थायी समिति बैठकमा आफू नजाने, केन्द्रीय समिति बैठक नबोलाउने, स्थायी समिति बैठक राखेमा वैधानिक नहुने, अध्यक्ष र प्रधानमन्त्रीको पद नछोड्ने लगायत अडान राख्दै आउनुभएको छ ।

अर्का अध्यक्ष प्रचण्डले भने प्रधानमन्त्री ओलीले कुनै एक पदबाट राजीनामा दिनुपर्ने, राेकिएकाे स्थायी समिति बैठक सुरु गर्नुपर्ने र त्यो नभए केन्द्रीय समिति बोलाउनुपर्ने बताउँदै आउनुभएको छ । यही कारणले नेकपामा विवाद बढेको छ ।  

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया