इजरायल र यूएईबीच ऐतिहासिक शान्ति सम्झौता

 साउन ३०, २०७७ शुक्रबार ६:१७:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - इजरायल र संयुक्त अरब इमिरेट्स (यूएई)बीच शान्ति सम्झौता भएको छ । 

सम्झौता भएसँगै अब मध्यपूर्वी एसियामा शान्ति बढ्ने दुई देशका नेतृत्वले विश्वास गरेका छन् । यस्तै वेष्ट बैंकको ठूलो हिस्सा मिलाउने आफ्नो योजना स्थगित गरेको इजरायलले जनाएको छ । इजरायल र यूएईले यो सम्झौतालाई ऐतिहासिक र शान्तिको दिशामा एउटा सफलता भनेका छन्।

अहिलेसम्म इजरायलको खाडीका अरब देशसँग कुनै कूटनीतिक सम्बन्ध थिएन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गरेर दुई देशबीच शान्ति सम्झौता भएको जानकारी दिनुभएको हो । यो सम्झौता गराउन उहाँले मध्यस्थकर्ताको भूमिका खेल्नुभएको थियो ।

उहाँको ट्वीटमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेता न्याहुले ऐतिहासिक दिन भएको उल्लेख गर्नुभएको छ ।
 

यसअघि इजरायलसँग इजिप्ट र जोर्डनले यस्तैखाले सम्झौता गरिसकेका छन्।

केही दिनपछि इजरायल र यूएईका प्रतिनिधिहरू द्विपक्षीय सम्झौताहरूमा हस्ताक्षर हुनेछ ।

उनीहरूले लगानी, पर्यटन, सीधा हवाई उडान, सुरक्षा, दूरसञ्चार, प्रविधि, ऊर्जा, स्वास्थ्य सेवा, संस्कृति, वातावरण, दुवैतर्फ दूतावास स्थापना र अन्य द्विपक्षीय फाइदाका विषयमा सम्झौता गर्ने तयारी गरेका छन् ।

सम्झौतापछिको संयुक्त वक्तव्यमा इजरायलले अरु अरब र मुस्लिम देशहरूमा पनि यस्तै सम्बन्ध विस्तार गर्ने लक्ष्य राखेको र त्यसलाई पूरा गर्न अमेरिका र यूएईले सहयोग गर्ने उल्लेख छ।

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया