भूकम्पले क्षतिग्रस्त काष्ठमण्डप पुनर्निर्माणको काम ७० प्रतिशत सकियाे

 साउन ३०, २०७७ शुक्रबार १६:२०:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भूकम्पले क्षतिग्रस्त काष्ठमण्डप पुनर्निर्माणको काम ७० प्रतिशत सकिएको छ ।

जनप्रतिनिधि र स्थानीय नागरिकको प्रत्यक्ष सहभागितामा निर्माण भइरहेको काष्ठमण्डपको काम ७० प्रतिशत सकिएको काष्ठमाण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले बताउनुभयो ।

कोरोना भाइरसका कारण केही समय काम स्थगित गरिए पनि गएको वैशाख दोस्रो हप्तादेखि फेरि पुनर्निर्माणको काम सुरु भएको हो । पहिलो तलाको सबै काम सकिएको र दोस्रो तलाको काम भैरहेको अध्यक्ष शाक्यले बताउनुभयो ।

काष्ठमण्डप पुनर्निर्माणमा प्राचिनकालमा प्रयोग गरिएको सामग्री र विधि प्रयोग भइरहेको छ । ऐतिहासिक सम्पदाको पुर्ननिर्माण गर्दा आधुनिक मेसिनको प्रयोग नभइ स्थानीय जनशक्तिको परम्परागत सीप विधि माटो, इटा, काठ र ढुंगाबाट निर्माण भइरहेको उहाँले बताउनुभयो ।

काठमाण्डाै महानगरपालिका, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, पुरातत्व विभाग र काष्ठमण्डप पुनर्निर्माण भइरहेको छ । पुनर्निर्माणको खर्च महानगरपालिकाले व्यहोर्ने समझदारी अनुसार काम भइरहेको छ । अहिलेसम्म महानगरले तीन चरणमा गरी साढे १० करोड रुपैयाँ समितिलाई हस्तान्तरण गरिसकेको उहाँले बताउनुभयो ।

कोरोना सङ्क्रमणको जोखिम देशव्यापी रहे पनि आवश्यक सावधानी अपनाएर पुनर्निर्माणको काम जारी रहेको उहाँले बताउनुभयो । काष्ठमण्डप पुनर्निर्माणका लागि अहिलेसम्म ७ हजार ९ सय २ क्यूफिट काठ महोत्तरी, मकवानपुर र कञ्चनपुर लगायतका क्षेत्रबाट ल्याइएको छ । अझै ३ देखि ४ हजार क्यूफिट काठको आवश्यकता रहेको प्राधिकरणले जनाएको छ ।

६४ वर्गमिटर क्षेत्रफलमा निर्माण भइरहेको काष्ठमण्डपको उचाइ साढे २६ मिटर रहेको छ । भग्नावशेषबाट सङ्कलन गरिएका केही काठहरु अहिले पनि प्रयोग गरिएको छ । मुख्य चार खम्बामध्ये एक खम्बा पुरानो नै प्रयोग गरिएको छ । पुरानो काठ रेक्टोग्राफि टेष्ट गरेर मात्रै प्रयोग गर्ने गरिएको काष्ठमण्डप पुर्ननिर्माण समितिले जनाएको छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया