पुस्तक अंश : सिकाउने आफ्नै काइदा

 साउन ३१, २०७७ शनिबार ७:१९:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

खगराज बराल
काठमाण्डौ -जाइकाबाट आएका एक जना स्वयंसेवकले शिक्षक तालिममा एउटा सत्रको कक्षा सञ्चालन गरे । उनको प्रस्तुतिको विषयवस्तु थियो - खरायो र मानिस । 

खरायो र मानिसको तुलना गर्दै उनले खरायो शाकाहारी जस्तै मानिस पनि शाकाहारी भएको पुष्टि गरे । दाँत देखाउँदै खरायोले घाँसपात खाने भएकाले यसका दाँत त्यस्तै प्रकृतिका बनेको बताए । खरायोका जस्तै दाँत हुने भएकाले मानिसले पनि सागसब्जी र वनस्पति खानुपर्ने तर्क थियो उनको ।

खरायो र कुकुरका दाँतको बनावट चित्रमा देखाउँदै कुकुर मांसाहारी भएकाले यसका दाँत काँचो मासु लुछेर खान सक्ने किसिमको हुने र यसका माथिल्ला र तलका केही दाँत तिखा र अन्य दाँतका तुलनामा लामा हुनेसमेत चित्रमै देखाए । 

मानिसका दाँत कुकुरका भन्दा खरायोका दाँतसँग मिल्दाजुल्दा देखिने पनि बताए । एउटा रमाइलो प्रसङ्ग उठाउँदै प्रेसर कुकरमा १० सिटी लगाएर पकाएको मासु पनि मानिसका दाँतमा अड्कने तर काँचो मासु खाँदा कुकुरका दाँतमा नअड्कनाले मानिस शाकाहारी प्राणी भएको बुझ्नुपर्ने उनको भनाइ थियो ।

तालिमका सहभागीहरुले ‘प्राणीहरु किन मांसाहारी र शाकाहारी भएका होलान् ? कसरी मांसाहारी र शाकाहारी छुट्याउने ?’ जिज्ञासा राखे ती स्वयंसेवकसमक्ष । ‘के-के विशेषता होलान् त ? तपाईंको अनुभवका आधारमा बताउनु न साथीहरुलाई’ भन्दै प्रतिप्रश्न गरे उनले । सहभागीहरुबीच निकै छलफल हुँदै थियो, जापानी स्वयंसेवकले मांसाहारी र शाकाहारी छुट्याउने एउटा आधार आँखा भएको बताए ।

आँखाको प्रसङ्गमा बिरालो, कुकुर, बाघ, सिंह, स्यालका आँखाको विशेषता बताए- ‘यी प्राणीका आँखा खैरा हुन्छन् । तिनका आँखा अँध्यारोमा टल्कन्छन् । यस्तै यी प्राणीहरुले अँध्यारोमा पनि देख्न सक्छन् । बिरालो, कुकुर, बाघ, सिंह, स्याल जस्ता प्राणी मांसाहारी भएकाले आँखाको सहायताले अँध्यारोमा पनि आफ्नो सिकार देख्न र आक्रमण गर्न सक्छन् ।’

सबैलाई बिरालो, कुकुर, बाघ, सिंह, उल्लु, स्यालका आँखा र मानिस, गाई, बाख्राका आँखा तुलना गर्न लगाए । सबैको निचोड आयो– आँखाका विशेषताका आधारमा मानिस शाकाहारी प्राणी हो । ‘यो निचोड निकाल्न हतारिनु हुँदैन नि !’ स्वयंसेवकले भने- ‘एउटा विशेषताका आधारमा निचोड निकाल्दा त्रुटि हुन सक्छ ।” 'अरु विशेषता पनि छन् कि ?’ सहभागीहरुबाट जिज्ञासा आयो ।

सहभागीहरुको जिज्ञासा सम्बोधन गर्दै स्वयंसेवकले भने- ‘तपाईंहरु नै अनुमान गर्नोस् त । मैले त एउटा विशेषता आँखा भनिदिएँ ।’ सहभागी चुपचाप रहे । फेरि थपे- ‘ल त, पानी पिउने तरिका हेरौं । तपाईंहरु बिरालो, बाघ, कुकुर, सिंह, स्याल, ब्वाँसोले पानी पिउने तरिकामा फरक देखाउनोस् त ?’ सहभागीहरु छलफल गर्न थाले ।

सहभागीहरुबाट जबाफ आयो- ‘कुकुरले पानी पिउन सक्दैन । जिब्रोले चाट्छ । बिरालोले पनि त्यसै गर्छ । यस्तै, बाघ, सिंह, स्यालले पनि पानी पिउन सक्दैनन्, जिब्रोले चाट्छन् । गाई, बाख्रा, मृग आदिले ओठ डुबाउँदै दुई ओठबीचबाट पानी तान्ने गर्छन् ।’

स्वयंसेवकले हाँस्दै भने- ‘सही कुरा । मांसाहारीले पानी पिउन सक्दैनन्, जिब्रोले चाट्छन् । शाकाहारीले ओठ डुबाएर पानी पिउँछन् । अब, भन्नोस् त, मान्छे कुन वर्गमा पर्छ ?’ ‘शाकाहारीमा ।’ सहभागीहरु मानिसलाई शाकाहारी वर्गमा राखेकोमा केही खुसी र केही दुःखी देखिन्थे । सहभागीहरु मांसाहारी र शाकाहारीबीचको तेस्रो फरक खोज्दै थिए । कसैकसैले अनुमान गर्ने प्रयत्न पनि गर्दै थिए । 

स्वयंसेवकले अर्को फरक बताए – ‘ल, अब शरीरको लचिलो र फुर्तिलोपन हेरौं त । बाघ, बिरालो, कुकुर, चितुवा, सिंह, स्याल, ब्वाँसो जस्ता प्राणी छिटो दौडन सक्छन् । यिनीहरुको शरीर लचिलो हुन्छ । उफ्रन र दौडन सक्ने हुनाले यिनीहरूको शरीर ज्यादै फुर्तिलो हुन्छ । काँचो मासु खाने हुनाले उनीहरुको पाचन प्रणाली त्यहीअनुरुपको हुन्छ । छिटै पचाउनुपर्ने र पचाउन नसकिने वस्तुहरु छिटै उत्सर्जन गर्नुपर्ने हुँदा यिनीहरुका आन्द्रा छोटा हुन्छन् । खानामा रौं पर्यो भने के हुन्छ ? तपाईंहरुलाई थाहै छ । तर, मांसाहारीले त मासु खाँदा रौं छुट्याउँदैन । यस्ता रौं शरीरभित्र धेरै समय रहनु हुँदैन । लामो आन्द्रा भएमा पाचन प्रणाली लम्बिन्छ । त्यसैले मांसाहारीका आन्द्रा प्रकृतिले नै छोटा बनाएको हो । मान्छेको आन्द्रा त लामो हुन्छ । अब भन्नोस् त, मान्छे कस्तो प्राणी रहेछ ?’

जापानी स्वयंसेवकले नेपाली परिवेशअनुसारका भनाइ राखे । सबै सहभागीको जबाफ आयो– ‘शाकाहारी ।’ ‘यो जापानीले मान्छे शाकाहारी भनेर पुष्टि गर्दै हामीलाई शाकाहारी बनाउन त खोजेको होइन ? हामी त शाकाहारी बन्न सक्दैनौ नि ?’ एक जना सहभागीले खासखुस गर्दै भनेको सुनें ।

शिक्षकहरुलाई शाकाहारी बनाउने जापानी स्वयंसेवकको कुनै चाहना होइन । विभिन्न उदाहरण दिएर शाकाहारी र मांसाहारीबीचको फरकपन जानकारी दिएका थिए । मांसाहारी हुने वा शाकाहारी हुने भन्ने कुरा व्यक्तिको चाहना र विवेकमा भरपर्ने कुरा हो ।

‘मांसाहारीका तल र माथि दुवैतिर दाँत हुन्छन् । मान्छेका पनि दुवैतिर दाँत छन् । अझ चारओटा त कुकुर दाँत पनि छन् । कुकुर दाँत मासु खानका लागि हो । यिनले मासु खानलाई सहयोग गर्छन् । यसर्थ, मान्छे शाकाहारी होइन, मांसाहारी हो ।’ एक जना शिक्षकले उठेर आफ्नो विचार राखे ।

स्वयंसेवकले हाँस्तै भने-‘मानिसका चारओटा कुकुर दाँत मासु खानका लागि खासै प्रयोग भएको पाइँदैन । मांसाहारीको मात्र होइन, शाकाहारीका पनि दुवैतिर दाँत हुने गर्छन् । तर मांसाहारी र शाकाहारीलाई प्रकृतिअनुसार शरीरका अङ्ग, स्वभाव, खानाको छनोट आदि प्रकृतिले नै व्यवस्था गरिदिएको हुन्छ । सबै विशेषता र स्वभाव हेर्दा मानिस शाकाहारी प्राणी हो । त्यसो त बुद्धि बङ्गारा सबै मानिसका हुन्छन् । यसको मतलब बुद्धि बङ्गारा भएका सबै मानिस बुद्धिजीवी हुन्छन् भन्ने होइन । त्यसैले कुकुर दाँत हुँदैमा मांसाहारी बन्नु पर्दैन ।

तालिममा सहभागी र प्रशिक्षकबीचको जीवन्त छलफल, जिज्ञासाको समाधान, रोचक प्रस्तुतिले सिकाइमा नयाँपन ल्याएको अनुभव गरें मैले । शिक्षक र विद्यार्थीबीच यस्ता छलफल र प्रस्तुति कक्षाकोठामा हुन सके शिक्षण सिकाइ कति उपलब्धिमूलक हुन्थ्यो होला ? शिक्षण सिकाइमा विषयवस्तुका साथै प्रस्तुतिको तरिका पनि महत्वपूर्ण हुँदो रहेछ । यस्तो तौरतरिका विद्यालयमा लागु गर्न सके सिकाइमा ठूलो फड्को मार्न सकिन्छ ।

(साङ्ग्रीला प्रकाशनले २०७६ को अन्त्यतिर बजारमा ल्याएको सिकाइ र सहयोग पुस्तकको अंश सिकाउने आफ्नै काइदा शीर्षकबाट । शिक्षा क्षेत्रमा लामो समयदेखि कार्यरत खगराज बरालको २०७५ सालको चर्चित पुस्तक सिकाउने शैलीपछिको यो पुस्तक जीवनका अनुभवजन्य सिकाइसम्बन्धमा केन्द्रीत छ ।) 
 

अन्तिम अपडेट: भदौ १९, २०७७

तपाईको प्रतिक्रिया