निबन्ध : कोरोनाको रोकथाम र नियन्त्रण

 साउन ३१, २०७७ शनिबार ८:३९:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

दिपक सापकोटा

मानिस सृष्टीको एक विवेकशिल एवं  सर्वश्रेष्ठ प्राणी हो । मानव सभ्यताको विकास भन्नु नै यस ब्रह्माण्डमा सिर्जित सम्पूर्ण प्राणीहरुको संरक्षण र विकास हुनु हो। 

जब विवेकशिलताको ह्रास  र शक्तिको दुरुपयोग हुन्छ, त्यसले सम्पूर्ण सभ्यता नै धर्मराउने अवस्थासम्म पुग्न सक्छ। भनाइ नै छ, ‘विकाससँगै विनाश अवश्यंभावी छ । माल्थसको जनसंख्या सिद्धान्त पनि यही पेरिफेरिको महत्तम दृष्टान्त हो।'

समुचित आहारविहार, स्वस्थ चिन्तन र कल्याणकारी भावना लोप हुँदै गइरहेको विद्यमान परिप्रेक्षमा मानवसभ्यतालाई नै चुनौती खडा गरेको छ । कोभिड-१९ अर्थात, कोरोना भाइरसले । अनुवांशिक  संरचनामा भएका भाइरस अर्थात् विषाणुको एउटा समूहलाई वैज्ञानिकहरूले कोरोना भाइरस नामकरण गरेका हुन्। यस भाइरसको बाह्य रूप किरीट अर्थात् श्रीपेचजस्तै भएकाले अङ्ग्रेजीमा यो नाम दिइएको थियो। त्यसलाई नेपालीमा ‘किरीटाकार विषाणुु वा’ किरीट विषाणुु पनि भन्न सकिन्छ। 

तर कोरोनाभाइरस नै जनमानसमा प्रचलित र बोधगम्य बन्न पुग्यो। यो रोग सर्वप्रथम चीनको वुहान प्रान्तमा सन् २०१९ डिसेम्बरको अन्त्यतिर पहिलोपटक देखा परेको हो। छोटो समयमा  विश्वभर फैलिएर नियन्त्रण बाहिर गएकाले  विश्व स्वास्थ्य संगठनले ३० जनवरी २०२० मा विश्व स्वास्थ्य संकटकाल र ११ मार्च २०२० बाट यस रोगलाई महामारीको रूपमा घोषणा गरेको हो।

कोरोना भाइरस रोग संक्रमित व्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक वा मुखबाट निस्कने छिटा  एक व्यक्ति बाट अर्को व्यक्तिमा श्वासप्रश्वासको माध्यमबाट सर्ने रोग हो। सङ्क्रमित व्यक्तिले सरसामान वा सतह छोएर हात नधोई आफ्नो अनुहार छुँदा कोरोना भाइरस शरीरमा छिर्न सक्छ । भाइरसले पहिला घाँटी, सासनली र फोक्सोका कोषलाई आक्रमण गर्छ। विस्तारै ती अङ्गलाई नियन्त्रणमा लिएर आफ्नो सङ्ख्या वृद्धि गर्न थाल्छ र गम्भीर असर पुर्‍याउन सक्छ।

लगातार ज्वरो आउनु र सुख्खा खोकी लाग्नु कोरोना रोगको मुख्य एवं प्रारम्भिक लक्षण हुन्। व्यक्तिपिच्छे फरक  फरक लक्षण समेत देखिने यस रोगका केही संक्रमितहरूलाई घाँटी दुख्ने, पखाला लाग्ने, टाउको दुख्ने वा सुँघ्ने र स्वाद पहिचान गर्ने क्षमतामा समेत ह्रास आएको पाइएको छ। 

सबैभन्दा चिन्ता र गम्भीर कुरा चाहिँ कतिपय संक्रमितहरूमा कुनै खास लक्षण देखा नपरे पनि उनीहरूको सम्पर्कमा रहने अन्य व्यक्तिहरूलाई भाइरस सर्न सक्छ । यस नयाँ प्रजातिको भाइरसले संक्रमण गरेपछि सामान्य रुघाखोकीदेखि गम्भीर प्रकृतिको तीव्र श्वासप्रश्वाससम्म गराउन सक्दछ। संक्रमित व्यक्तिहरूमध्ये असी प्रतिशतमा सामान्य खालको लक्षण देखिन्छ।

एउटा अध्ययनले सङ्क्रमण भएका व्यक्तिमध्ये झन्डै ०.६६ प्रतिशतको मृत्यु हुने अनुमान गरेको छ । यो मृत्युदर मौसमी फ्लू अर्थात् रुघाखोकीबाट हुने मृत्युदरभन्दा धेरै हो । विश्वभरि मौसमी रुघाबाट पीडित झन्डै ०‍.१ प्रतिशत बिरामीको मृत्यु हुने गरेको छ । यो महामारीको सङ्क्रमणदर गणना गर्न त्यति सहज छैन । फरक उमेर समूहका व्यक्तिमा फरक मृत्युदर देखिएको छ।

इम्पीरीअल कलेज लन्डनको अनुमानअनुसार ८० वर्षभन्दा माथिका बिरामीको मृत्युदर औसतभन्दा १० गुना बढी र ४० वर्षमुनिका बिरामीमा धेरै कम हुन्छ । चीनमा ४४,००० बिरामीको अभिलेखको अध्ययन गर्दा मधुमेह, उच्च रक्तचाप वा मुटु वा फोक्सोको समस्या भएका बिरामीको कोरोना भाइरसका कारण मृत्यु हुने सम्भावना कम्तीमा पाँच गुना बढी पाइयो।

 सङ्क्रमित व्यक्तिको संसर्गमा आउने व्यक्ति तथा कोभिड(१९ बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीमा भाइरस सर्ने सम्भावना उच्च हुन्छ । त्यसैले सबैले आफू सुरक्षित हुने उपाय अवलम्बन गर्नुपर्छ । कोरोनाभाइरस महामारीले हाम्रो जीवनशैलीमा अकस्मात् धेरै परिवर्तन ल्याइदिएको छ । अहिले विश्वभरि कोरोना भाइरस सङ्क्रमण र त्यसबाट हुने रोग कोभिड(१९ को त्रास छ। विश्वका अधिकांश देशमा मानिसका गतिविधिहरू अत्यावश्यक काममा मात्रै सीमित भएका छन्। यो भाइरस फैलिन नपाओस् भनेर अवलम्बन गरिएको उपाय स्वरुप धेरै मानिस घरभित्रै सीमित छन्। 

लकडाउनका कारण धेरै देशको आर्थिक स्थिति खस्किँदो छ। यससँगै बाँच्नु महत्वपूर्ण या ज्यानको परवाह नगरी अर्थतन्त्र जोगाउनु महत्वपूर्ण भनेर विश्व जनसमुदाय अल्मल्लिरहेको छ । अहिलेसम्म कोरोना भाइरसका कारण लाग्ने रोग कोभिड(१९ को उपचार गर्न वा भाइरस हुन नदिने कुनै औषधि वा खोप बनेको छैन।

अन्य जीवाणुको उपचारका लागि बनाइएका एन्टीबायोटिकले भाइरसलाई मार्न सक्दैनन् । कोभिड(१९ हुँदा देखिने लक्षणहरुको उपचार हुन्छ। अधिकांश मानिसमा तीनको शरीरको प्रतिरोधात्मक क्षमता सक्रिय भएर बिस्तारै निको हुन थाल्छ । कोरोना भाइरसविरुद्ध खोप बनाउन तथा परीक्षण गर्न विभिन्न देशका वैज्ञानिकहरूले काम गरिरहेका छन्।

कोरोना महामारीबाट बच्ने प्रमुख उपाय नै व्यक्तिगत सरसफाइ हो। नियमित रूपमा साबुनपानीले हात धुने वा गुणस्तरीय स्यानिटाइजर दल्ने गर्नुपर्छ । यसो गर्दा हातमा भएका भाइरसहरू मर्छन्। नाक, मुख र आँखा नछुने किनभने हातले दूषित ठाउँ छोएको हुन सक्छ अनि हात नधोई अनुहार छुँदा भाइरस शरीरभित्र छिर्न सक्छ। 

खोक्दा वा हाछ्युँ गर्दा सफा रुमाल वा टिस्यूले नाक र मुख छोप्नुपर्छ  अथवा हात उचालेर कुहिनोले ढाक्ने गर्नुपर्छ। त्यसो गर्दा भाइरस फैलिन पाउँदैन । दूषित रुमाल र टिस्यू सुरक्षित रूपमा तुरुन्त फाल्ने गर्नुपर्छ । त्यसो गर्दा भाइरसयुक्त छिटाबाट अरू मानिसलाई जोखिम हुँदैन । एक अर्काबाट कम्तीमा पनि दुई मिटरको दूरीमा बस्ने । त्यसो गर्दा एक व्यक्तिमा भएका भाइरस अर्कोमा सजिलै पुग्न सक्दैनन् । भिडभाडमा नजाऔँ, सकेसम्म घरमै बसौँ। 

त्यसो गर्दा भाइरस फैलिने सम्भावना कम हुन्छ। बाहिर जाँदा वा अरू व्यक्तिलाई भेट्दा हात मिलाउनुको साटो नमस्कार गरेर वा हात हल्लाएर अभिवादन गर्ने बानीको विकास गर्नुपर्यो। माक्स र पञ्जा रोग लाग्नै नदिने अचूक उपाय अवश्य होइन तर संक्रमितले खोक्दा वा हाच्छ्यूँ गर्दा निस्कने छिटा धेरै हदसम्म रोकिदिने हुँदा वा धुलो धुवाँबाट समेत बचाउने भएकोले लगाउन हिच्किचाउन भएन।

घरबाहिर कुनै सामग्री खरिद गर्दा वा बसमा यात्रा गर्दा चानचुन नोट बोक्नु बेस हुन्छ। नोट गन्दा बूढी र चोरऔंलामा थुक लगाउने पुरानो बानी त्याग्नुपर्छ । सहचालक र यात्रुहरूबीच कुराकानीमा कम गर्ने, गुड्खा, पराग, सुर्ती आदि खाएर जथाभावी थुक्ने बानी हटाउनुपर्छ।

 खोक्दै वा हाछ्यूँ गर्दै गरेको मानिससँग दूरी कायम गर्ने, आफू अस्वस्थ भएको महशुस गरिरहेको अवस्थामा घरमै आराम गरेर बस्ने, यदि सुख्खा खोकी, रुघा, टाउको दुख्ने, ज्वरो आउने र श्वासप्रश्वासमा बाधा भएको महसुस भएमा तुरुन्त चिकित्सकीय सल्लाह लिने गर्नुपर्छ। रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने खानेकुरा जस्तै बेसारपानी, जिरा, लसुन, अदुवा, मरिच, तुलसी, पुदिना, चिराइँतो, टिमुर,गुर्जो एवं दूध, तातोपानी, फलफूल आदिको  नियमित सेवन गर्नुपर्छ। 

कोरोना भाइरसले दीर्घरोगी, वृद्धवृद्धा, बालबालिका र गर्भवतीलाई छिटो आक्रमण गर्ने हुँदा उनीहरूको विशेष स्वास्थ्य निगरानी गरिनुपर्छ। विदेशबाट हालसालै स्वदेश फर्किएका वा अपरिचित व्यक्तिहरूसँग दूरी कायम गर्नुपर्छ। उनीहरूलाई  दुई हप्ताको एकान्तबासको व्यवस्था गर्नुपर्छ।

विश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना रोगबाट बच्न व्यक्तिगत सरसफाइ, आहारविहार र सहयोगी भावनाको खाँचो छ। रोगीहरुको उपचारका निमित्त अहोरात्र  ज्यानको परवाह नगरी  खटिने चिकित्सक, सुरक्षा संयन्त्र आदिलाई विशेष प्रोत्साहन र उत्प्रेरणा प्रदान गर्नुपर्छ।

 यस महामारीबाट मुक्ति पाउनका लागि सरकार, राज्य र सम्पूर्ण विश्व समुदाय एकाकार हुनु अत्यन्त जरूरी छ। आधिकारिक निकायबाट जारी सन्देश एवं सूचनालाई मात्र विश्वास गर्नुपर्छ । यो रोग लागिहाले पनि निको हुन सकिन्छ भन्ने उच्च मनोबलका साथ स्वास्थ्यको विशेष ख्याल गर्नुपर्छ। राजनीतिक दलहरू आन्तरिक विवाद एवं शक्तिको तँछाडमछाडलाई त्यागी राष्ट्रिय र अन्तर्राष्ट्रिय समझदारी र भाइचारा कायम गर्नेतर्फ उन्मुख हुनुपर्छ। हामी मानिसको विवेकशिलता र संयमभावले नै हिजोको कठिनतम ढुंगे युगबाट आजको वैज्ञानिक, विलासी र उल्लासमय जीवन जिउन सफल भएका छौँ। 

हामी मात्र नभई सारा सृष्टीका प्राणीहरूको रक्षार्थ कोरोना र यस्ता महामारीबाट बच्न एकजुट हुनु अपरिहार्य छ।

अन्तिम अपडेट: भदौ २३, २०७७

तपाईको प्रतिक्रिया