लकडाउनका सबै नियम पालना गर्न गृह मन्त्रीको आग्रह

 साउन ३२, २०७७ आइतबार १४:५४:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – गृह मन्त्री रामबहादुर थापाले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सुरक्षाका नियमहरु पालना गर्न सर्वसाधारणलाई अपिल गर्नुभएको छ । 

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउन सबै नियमहरु पालना गर्न अपिल गर्नुभएको हो । सरकारले मात्रै कोरोना रोकथाम तथा नियन्त्रणका लागि काम गरेर नहुने भन्दै सबै नागरिकले सचेतना अपनाउन आवश्यक रहेको बताउनुभयो ।  गृह मन्त्री थापाले सरकार र नागरिक सबैले एकसाथ सचेत भइ नियमहरु पालना गरेमा सङ्क्रमणलाई नियन्त्रण गर्न सकिने बताउनुभएको हो ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि लकडाउन लागू भए पनि फेरि सङ्क्रमण बढिरहेको छ । सरकारले केही कडाइ गरी नियन्त्रणको प्रयास गरिरहेको गृह मन्त्री थापाले बताउनुभयो । फेरि लकडाउन गरेर समस्याको हल नहुने भएकोले सबै क्षेत्रलाई क्रमशः मापदण्ड अपनाएर खोल्न दिने नीति लिइएको प्रस्ट पार्नुभयो । 

लकडाउनका कारण आर्थिक समस्या देखिन थालेपछि सरकारले कोरोना र आर्थिक सङ्कटको अवस्थालाई तालमेल गरी अगाडि बढ्ने नीति लिएको बताउनुभयो । सरकारले देशभित्र प्रवेश गर्ने १० वटा नाका तोके पनि अझै पनि लुकीछिपी आउने काम भइराखेको उहाँले बताउनुभयो । अहिले पनि खुला नाका नियन्त्रणका लागि एक हजार दुई सयभन्दा बढी बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिएको गृह मन्त्री थापाले बताउनुभयो । 

अहिले देशमा बाढी पहिरो र कोरोनाको सङ्कट एकैपटक आएकाले यसको समाधानमा समस्या देखिएकाे थापाले बताउनुभयो । कोरोनाको लागि कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) क्रियाशील रहेको र बाढी पहिरोको लागि विपद् जोखिम न्यूनीकरण व्यवस्थापन समितिले काम गरिराखेको थापाले बताउनुभयो । 

यस वर्ष मनसुन सुरु हुनभन्दा अगाडि नै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठक बसेर पूर्वतयारी गरेको समेत गृह मन्त्री थापाले जनाउनुभयाे । विपद्को समस्या गृह मन्त्रालयको मात्रै नभएर अन्य केही सरोकारवालाको पनि समस्या भएकाले ती निकायबीच तालमेल हुन नसक्दा उद्धार तथा राहत कार्यमा केही समस्या आएको थापाले बताउनुभयो । 

बाढी पहिरोका कारण क्षति पुगेको ठाउँमा रोकथाम तथा नियन्त्रणका लागि केन्द्र, प्रदेश र पालिकामा तयारी गरिएको पनि उहाँले बताउनुभयो । हरेक वर्ष पूर्वतयारी गरिए पनि उद्धारका लागि साधन र सामग्रीहरुको समस्या रहेको उहाँकाे भनाइ छ ।  

गृह मन्त्री थापाले प्रधानमन्त्री दैवी प्रकोप राहत कोष र गृह मन्त्रालय अन्तर्गत रहेको रकमबाट उद्धार र पुनर्स्थापनाका लागि निकासी गरी काम भइराखेको बताउनुभयो । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया