'पानीको व्यवस्थापन गर्न नसक्दा लिदीमा पहिराे गयाे'

 साउन ३२, २०७७ आइतबार १६:१८:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ काे लिदीमा पानीको उचित व्यवस्थापन हुन नसक्दा पहिरो गएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बताएको छ । 

भूकम्पपछि बस्ती उच्च जोखिममा रहेको भए पनि सरकारले व्यवस्थापनमा ध्यान नदिएको भन्ने टिप्पणी भइरहेका बेला प्राधिकरणले यस्तो बताएको हो । प्राधिकरणका कार्यकारी समिति सदस्य डाक्टर चन्द्रबहादुर श्रेष्ठले पानीको व्यवस्थापन हुन नसक्दा पहिरो गएको बताउनुभयो ।

‘प्राधिकरणको नेतृत्वमा त्यति बेला अध्ययन भएको थियो, अध्ययनले बस्ती केही पनि गर्न नपर्ने गरी १ नम्बर श्रेणीमा देखायो', उहाँले भन्नुभयो, 'त्यसपछि फेरि प्राधिकरणले अध्ययन गर्दा बस्ती नै सार्न नपर्ने तर पर्खाल लगाएर केही सुधार गर्नुपर्ने देखिएको थियो, श्रेणी २ मा थियो, बस्ती नै सार्नुपर्ने भन्ने अवस्था थिएन ।’

पानीको उचित निकासका लागि पालिकाले काम नै गर्न नसकेको उहाँले बताउनुभयो ।

‘लिदीमा पानीको व्यवस्थापन हुन नसक्दा पहिरो गयो, पानीको निकास भएको भए पहिरो जाने थिएन, पानी फर्काएर खोल्सोमा पठाउने व्यवस्था पालिकाले गरेको भए पहिरो जाने थिएन,’ उहाँले भन्नुभयो ।

नेपालमा ३० डिग्रीभन्दा बढीको स्लोपमा रहेका बस्तीहरु पहिरोको उच्च जोखिममा रहेको भए पनि लिदीको अवस्था त्यस्तो नभएको उहाँको भनाइ छ । लिदीमा पहिरोले ३७ घरमा क्षति पुगेकाे छ । ठूलो जनधनको क्षतिसमेत गरेको छ ।

भूकम्पपछि सिन्धुपाल्चोक, दोलखा, गोरखा, धादिङ, नुवाकोट, रसुवा, रामेछाप, काभ्रेलगायत १४ जिल्ला पहिरोको उच्च जोखिममा रहेका छन् । यस्तै ३१ जिल्ला पहिरोको जोखिममा छन् । प्राधिकरणले चार हजार आठ सय २९ बस्ती पहिरोको उच्च जोखिममा रहेको जनाएको छ । अहिलेसम्म चार हजार एक सय ७६ बस्ती व्यवस्थापन भइसकेको भए पनि अझै पाँच सय बस्ती जोखिममा रहेको उहाँले बताउनुभयो ।

पहिरोको जोखिम कम गर्न ३० डिग्रीभन्दा बढीको स्लोपमा रहेका जोखिमयुक्त बस्तीलाई सुरक्षित स्थानमा सार्नुपर्ने, बालीनाली लगाउने प्रक्रियामा सुधार गर्नुपर्ने र पानीको व्यवस्थापन गर्नुपर्ने उहाँले बताउनुभयो ।

कोरोनाका कारण प्राधिकरणले निर्माण गरिरहेका निजी आवास निर्माण तथा ऐतिहासिक सम्पदाको निर्माणमा समस्या भएको बताउनुभयो । आर्थिक वर्षको अन्तिमसम्म निजी आवास निर्माणको सबै काम सम्पन्न गरिसक्ने योजना रहे पनि कोभिडका कारण अझै १२ प्रतिशत काम बाँकी रहेको बताउनुभयो ।

सडक निर्माणको काम पनि एक वर्षपछि धकेलिएको उहाँले बताउनुभयो । यस्तै धरहरामा ढलानको सबै काम सम्पन्न गर्ने योजना भए पनि कोभिडले केही ढिलाइ भएको उहाँले बताउनुभयो ।   

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया