अद्यावधिक नक्सा अङ्कित लोगो सङ्घीय संसद्का पदाधिकारीलाई हस्तान्तरण

 साउन ३२, २०७७ आइतबार १६:५२:३० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – सङ्घीय संसद्ले नेपालको अद्यावधिक गरिएको राजनीतिक तथा प्रशासनिक नक्सा अङ्कित नयाँ प्रतिक लोगो तयार पारेर संसद्का पदाधिकारीलाई हस्तान्तरण गरेको छ ।

सङ्घीय संसद्का महासचिव डाक्टर भरतराज गौतमले सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहाललाई लोगो हस्तान्तरण गर्नुभएको हो । सभामुख सापकोटा, अध्यक्ष तिमिल्सिना र उपाध्यक्ष दाहालले साेमबारदेखि नै नयाँ लोगो लगाउनुभएको छ ।

गएको जेठ ११ गते बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले सङ्घीय संसद्का सदस्यहरुले प्रयोग गर्दै आएको लोगो नेपालको वास्तविक सीमा अनुरुपको नक्साअनुसार परिमार्जन गर्ने निर्णय गरेको थियो । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा जारी गरेपछि सङ्घीय संसदमा प्रयोग हुँदै आएको लोगो र रोस्ट्रममा प्रयोग हुँदै आएको लोगो परिमार्जन गर्ने निर्णय भएको हो । कार्यव्यवस्था परामर्श समितिको निर्णयअनुसार सङ्घीय संसद् सचिवालयले नयाँ लोगो तयार गरेको हो ।

दुई लाल सुनको जलप लगाइएको नयाँ लोगोमा एक तोला चाँदीको बेस र ३ दशमलव ५ सेन्टिमिटर व्यास रहेको छ । लोगो वाग्मती प्रदेश सरकार मातहतको घरेलु तथा साना उद्योग कार्यालयले निर्माण गरेको हो । प्रतिलोगो पाँच हजार पाँच सय २७ रुपैयाँ खर्च लागेको महासचिव गौतमले जानकारी दिनुभयो ।

सङ्घीय संसद्का सदस्यहरुलाई समेत नयाँ नक्सा अङ्कित लोगो साेमबारदेखि नै उपलब्ध गराइने छ ।

अन्तिम अपडेट: माघ २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया