'नेपाल–भारतबीच कुटनीतिक संवादले निरन्तरता पाउने आधार सिर्जना भएकाे छ'

 भदौ १, २०७७ सोमबार २०:६:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पूर्व परराष्ट्रमन्त्री एवं परराष्ट्रविद् डाक्टर भेषबहादुर थापाले नेपाल र भारतबीच कुटनीतिक संवादले निरन्तरता पाउने आभास मिलेको टिप्पणी गर्नुभएको छ ।

केही हप्तायता दुई देशका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता हुनु र विकास निर्माणसम्बन्धी निकायबीच वार्ता हुनुले दुई देशबीच रहेको संवादहीनताको अवस्था अन्त्य भएको बताउनुभएको हो । सोमबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै पछिल्ला दुई घटनाले संवादहीनताबाट संवादको अवस्थामा प्रवेश गरेको टिप्पणी गर्नुभएको हो ।

नेपाल–भारतबीच सीमा विवादका विषयमा विवाद रहेको र नेपालले कुराकानी गर्न भारतलाई पत्राचार गरेको विषयमा भारतले बेवास्ता गरिरहेको अवस्थामा एउटा संयन्त्रको छलफल हुनु र प्रधानमन्त्रीस्तरमा पनि टेलिफोन वार्ता हुनुले संवादहीनताबाट संवादको अवस्थामा प्रवेश गरेको तर्क डाक्टर थापाले गर्नुभएको हो । उहाँले संवादको सुरुवात मात्रै नभइ समझदारीको नयाँ आधार खडा भएको समेत बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘दुई देशको विकास निर्माणसम्बन्धी निकायको ढिलासुस्ती भयो, काम भएन भन्ने गुनासो नेपालमा बराबर भएको हो । त्यसलाई सम्बोधन गर्न नेपालको परराष्ट्र सचिव र भारतको राजदूतले वार्षिक बैठक गरेर समीक्षा गर्ने र अगाडि बढाउन के गर्न सकिन्छ भन्नेमा सम्बोधन गर्ने जुन निकाय थियो, त्यसको बैठक भएको हो यो । त्यसलाई पनि हेर्दा संवादहीनताबाट संवादको अवस्थामा प्रवेश गरेको सङ्केतको रुपमा हामीले लियौँ । किनकि त्योभन्दा अगाडि कुनै प्रकारको औपचारिक भेटघाट र संवाद भएको थिएन । भारतको स्वतन्त्रता दिवसको अवसरमा दुई देशका प्रधानमन्त्रीको बीचमा वार्ता हुने र वार्तामा भनिए/नभनिए पनि दुई देशको सम्बन्धमा भएको संवादहीनतालाई माथिल्लो तहमा सर्वोच्च तहमा तोडिएको मात्र होइन भएका समस्याको समाधान वार्ताबाट गर्ने भन्ने किसिमको आभास पनि भएको हो । दुई देशका प्रधानमन्त्रीको बीचमा सम्बन्ध भएकोले गर्दा संवादको सुरुवात मात्रै होइन समझदारीको पनि नयाँ आधार खडा भएको छ कि भन्ने कुरा बुझ्न सकिन्छ ।’ 

सीमा विवादपछि नेपाल र भारतबीच संवादहीनता रहेको बेला सोमबार नेपालका तर्फबाट परराष्ट्र सचिव शंकरदास बैरागी र भारतका तर्फबाट भारतीय राजदूत विनयमोहन क्वात्राबीच विकास निर्माण सम्बन्धमा वार्ता भएको हो ।

यसअघि गएकाे शनिबार भारतको स्वतन्त्रता दिवसको अवसरमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन संवाद भएको थियो । त्यस्तै स्वतन्त्रता दिवसको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिमेकी देशसँग सुरक्षा, विकास र विश्वासकाे साझेदारीका साथ सांस्कृतिक, आर्थिक र समाजिक रुपमा सम्बन्धलाई बलियो बनाउने बताउनुभएको थियो ।  

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया