आज कुशे औँसी, बुवाकाे मुख हेर्ने दिन

 भदौ ३, २०७७ बुधबार ८:१३:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व आज वैदिक सनातन धर्मावलम्वीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । 

आजको दिन उखेलेको कुश वर्षभरि प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता छ । सनातन धर्मावलम्वीले कुश, तुलसी, पिपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतिक मान्दछन् ।

आज बुवाको मुख हेर्ने दिन पनि हो । बुवालाई मनपर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान गर्ने गरिन्छ । बुवा नहुनेहरू बुवाको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिने गर्दछन् । काठमाण्डौको गोकर्णेश्वर महादेव मन्दिर, रसुवाको वेत्रावती लगायत ठाउँमा आज विशेष मेला लाग्ने गरेको भए पनि यो वर्ष कोरोनाको सङ्क्रमणका कारण भिडभाड र मेला नगर्न सरकारले निर्देशन दिएको छ ।

आजका दिन गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बुवाको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेहरूको भीड लाग्ने गरेपनि यस वर्ष कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले मन्दिर क्षेत्रमा प्रवेश निषेध गरिएको छ । मन्दिर छिर्ने चारवटै नाकामा प्रहरी राखिएको गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष श्रीकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

यसैगरी रसुवा र नुवाकोट संगमस्थल वेत्रावतीमा लाग्ने मेला पनि यस वर्ष कोरोनाका कारण प्रभावित भएको छ । गोकर्णेश्वर नगरपालिकाले सुरक्षित रुपमा घर घरमै पितृ सम्मान दिवस मनाउन आह्वान गरेको छ । यसैबीच यो वर्षको कुशे औंसी प्रविधिको प्रयोग गरेर बुबाको मुख हेर्न डाक्टरले सुझाव दिएका छन् ।

अहिले कोरोना भाइरसको महामारी फैलिरहेकाले बुवाबाट टाढा रहेकाहरुले भेटेर भन्दा पनि प्रविधिको प्रयोग गर्न जनरल फिजिसियन डाक्टर रक्षा गौतमले सुझाव दिनुभएको छ । उहाँका अनुसार भिडियो हेरेर र फोन गरेर बुवाको मुख हेर्न सकिन्छ । प्राय बुढाबुढी दीर्घरोगी हुने र हामी जाँदा कोरोना पनि सँगै जानसक्ने भएकाले यो वर्ष प्रविधिको प्रयोगबाट नै परम्परा जोगाउन उहाँले आग्रह गर्नुभयो ।

कोरोनाबाट जोगिन स्वास्थ्य मापदण्ड लागू गर्नेले पनि विचार गर्नैपर्ने अवस्था भएको डाक्टर गौतमको भनाइ छ । यस्तै बुवा नभएकाहरुले बुवाको सम्झनामा श्राद्ध र पूजा गर्नेहरुले पनि भिडभाड नगरी, मास्क लगाएर र धेरै मान्छे नबोलाइकन छोटो तरिकारले गर्न डाक्टरले जोड दिएका छन् ।

अन्तिम अपडेट: माघ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया