देउवालाई मैले मात्रै हराउन सक्छु : शशाङ्क कोइराला

 भदौ ८, २०७७ सोमबार १५:६:२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशाङ्क कोइरालाले शेरबहादुर देउवालाई सभापतिमा पराजित गर्न सक्ने व्यक्ति आफू मात्रै भएको बताउनभुएको छ ।

१४ औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवार भए मात्रै देउवा पराजित हुने उहाँले बताउनुभयो । पार्टी सभापतिका लागि अरु नेताहरुको दाबी रहे पनि सभापति देउवालाई पराजित गर्ने ग्यारेण्टीका साथ आफ्नो दाबी सभापतिमा रहने उहाँको भनाइ छ । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै महामन्त्री कोइरालाले रामचन्द्र पौडेलले पनि सभापतिमा देउवालाई पराजित गर्न नसक्ने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘मैले धेरैसँग परामर्श गर्दै छु । उनीहरु तपाईँ नै उठ्नुपर्‍याे भन्नुहुन्छ । तर मैले धेरै साथीहरुका दाबी छ भन्छु । रामचन्द्र दाइ, सिटौलाजी हुनुहुन्छ । प्रकाशमान छन्, धेरै छन्, सबै उठेर त भएन नि । हाम्रो लक्ष्य के हुनुपर्‍याे । हामी सबै मिलेर एक जना उठ्नुपर्‍याे । त्यसका लागि आपसमा वार्ता हुनुपर्‍याे । वर्तापछि हामी एक ठाउँमा पुग्न सकियो भने हुन्छ । व्यक्तिगत हिसाबले भन्नुहुन्छ भने शेरबहादुरजीलाई हराउने कोही व्यक्ति छ भने त्यो म नै हुँ । रामचन्द्र दाइले पनि सक्नुहुन्न । अरु जो पनि कसैले पनि सक्दैन यो ग्यारेण्टीका साथ भन्न चाहन्छु, म बाहेक शेरबहादुरजीलाई हराउने व्यक्ति छैन ।’ 

महाधिवेशन नजिकिँदै गर्दा सभापति देउवाले क्रियाशील सदस्यता वितरण, विभाग गठनलगायतका काम विधान विपरीत गरिरहेको भन्दै उहाँले असन्तुष्टिसमेत जनाउनुभयो । सभापति देउवाले पार्टीका विभागहरु गठन गरिरहेकोप्रति इतरपक्षले विरोध जनाउँदा पनि नसुन्ने गरेको उहाँको भनाइ छ । पार्टीभित्र जतिसुकै विरोध गर्दा पनि सभापतिले कुरा नसुन्ने गरेको उल्लेख गर्र्दै उहाँले यसको जवाफ महाधिवेशनबाट दिनुपर्ने बताउनुभयो । 

तोकिएकै मिति फाुगन ७ गते महाधिवेशन सम्पन्न भए मात्रै आउँदो निर्वाचनमा पार्टीलाई सही स्थानमा ल्याउन सकिने उहाँले बताउनुभयो । कुनै अप्रिय घटना नघटे महाधिवेशन तोकिएकै मितिमा हुनुपर्ने उल्लेख गर्दै उहाँले स्थानीय चुनावको तयारीका लागि समेत समय राखेर महाधिवेशन सम्पन्न गर्नुपर्ने बताउनुभयो । 

अहिलेको सरकारबाट लोकतन्त्र खतरामा रहेको कोइरालाले बताउनुभयो । सरकारले पटक–पटक संविधान र ऐन कानुन विपरीत काम गरिरहेको उहाँको आरोप छ । देश सङ्घीय संरचनामा गएपछि कम्युनिस्ट सरकारले सङ्घीयतालाई खतरामा पार्ने गरी काम गरिरहेको उहाँले आरोप लगाउनुभयो । लोकतन्त्रलाई जोगाउन भए पनि अहिले डेमोक्र्याटिक अलाइन्सका आवश्यकता रहेको पनि कोइरालाले बताउनुभयो ।  

अन्तिम अपडेट: चैत १५, २०८०

1 Comments

  • Kewal Mani Rijal

    Aug. 25, 2020, 1:53 p.m.

    राजनितिक सतहमा देखिएको सक्रियतालाई हेर्ने हो र कोईराला परिवारको बिरासतको रुपमा चिनिएको,देश र जनताको बिस्वास जितेको यश नेपाली कङ्ग्रेश पार्टि अझ धेरै जानताको बिश्वास जित्न र पार्टिको आगामि दिनको ऊज्वल भबिश्यकालागि यश महादिवेशनबाट कि त डा.मिनेन्द्र रिजाल अथवा गगन थापा लाई सभापति बनाउदा देश र जनताको हित हुन्छ र सबै नेपाली कङ्ग्रेशको पनि भविस्य उज्वल हुन्छ ।नत्र माछो माछो भ्यागुतो हुन्छ ।विचार गर्नोस नेता ज्यु ।

  •  0 Reply

तपाईको प्रतिक्रिया