'भाेलि स्वास्थ्यकर्मी आफै सङ्क्रमित भएर बिरामीले उपचार नपाउने दिन नआओस‍्'

 भदौ ८, २०७७ सोमबार १७:२३:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – स्वास्थ्यकर्मी कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिममा परेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्यकर्मीको स्वास्थ्यलाई प्राथमिकतामा राख्न सबै अस्पताललाई निर्देशन दिएको छ । 

स्वास्थ्य सामग्री राम्रोसँग नलगाउँदा र सुरक्षाका सामग्री नै नहुँदा कतिपय ठाउँमा स्वास्थ्यकर्मी जोखिममा परेको भन्दै मन्त्रालयले बिरामी जाँच्नुअघि सुरक्षाका सामग्री अनिवार्य लगाउन भनेको हो । 

बहिरङ्ग विभाग (ओपीडी) मा बिरामी जाँच्नुअघि अनिवार्य मास्क लगाउन, चस्मा लगाउन, चस्मा नभए भाइजर लगाउन, टोपी लगाउन, भएसम्म वाटरप्रुफ गाउन लगाउन, नभए एप्रोन लगाउन र चप्पल नलगाइ क्लोज जुत्ता लगाउन स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले आग्रह  गर्नुभयो । 

यस्तै बिरामी हेरिसकेपछि साबुन पानीले राम्ररी हात धुन र सम्भव नभए स्यानिटाइजर लगाउन उहाँको सुझाव छ । 

त्यसैगरी कोभिड वार्ड र सघन उपचार कक्ष (आईसीयू) मा काम गर्नेले टाउकोदेखि खुट्टासम्मको पीपीई सेट लगाउन, एन–९५ मास्क लगाउन र प्लास्टिककाे बुट जुत्ता लगाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

यी स्वास्थ्य सामग्री अस्पतालले स्वास्थ्यकर्मीलाई उपलब्ध गराउनुपर्ने र यदि अस्पतालसित नभए स्वास्थ्य मन्त्रालयमा सम्पर्क गर्न पनि मन्त्रालयको आग्रह छ । 

स्वास्थ्यकर्मीमा दिनहुँ सङ्क्रमण बढिरहेकाले भोलिका दिनमा बिरामीले उपचार नै नपाउने अवस्था आउन सक्ने भएकाले स्वास्थ्यकर्मीको स्वास्थ्यलाई विशेष प्राथकितामा राख्न मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले अनुरोध गर्नुभएको हो । 

उहाँले भन्नुभयो, ‘भोलि यस्तो अवस्था नआओस्, स्वास्थ्यकर्मी आफै सङ्क्रमित भएर बिरामीले उपचार नपाऊन् ।’ 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया