हिमाली र पहाडी जिल्लामा आन्तरिक उडानको तयारी भइरहेको छ : मन्त्री भट्टराई

 भदौ ९, २०७७ मंगलबार २०:३७:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले कोरोना सङ्क्रमण कम भएका हिमाली र पहाडी जिल्ला आन्तरिक उडानको तयारी भइरहेको बताउनुभएको छ । देशका धेरै ठाउँमा निषेधाज्ञा जारी भएका कारण तत्काल पूर्णरुपमा उडान सुरु गर्ने अवस्था नभए पनि केही हिमाली र पहाडी जिल्लामा सञ्चालन गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो । 

मन्त्रालयको गएको आर्थिक वर्षको वार्षिक प्रगति पुस्तिका सार्वजनिक कार्यक्रममा मन्त्री भट्टराईले वायु सेवा सञ्चालकसँग केही हिमाली र पहाडी जिल्लाबाट आन्तरिक उडान सुरु गर्ने विषयमा कुरा भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘देशका विभिन्न ठाउँमा निषेधाज्ञाको अवस्था भएकाले तत्काल चल्ने अवस्था छैन । तर मन्त्रालयले केही हिमाली र पहाडी जिल्लाहरुबाट सञ्चालन गर्न सकिन्छ भनेर कुरा गरिरहेको छ । वायु सेवा सञ्चालकसँग कुरा गरेर निष्कर्षमा पुग्छौँ । मन्त्री परिषद्मा प्रस्ताव लगेर छिट्टै उडान सुरु गर्नेतिर जान्छौँ ।’’ उहाँले सम्भवतः दशैँ, तिहारलाई मध्यनजर गर्दै आन्तरिक उडान सुरु हुने सङ्केत गर्नुभयो । चाडवाडको बेला नागरिकहरुलाई एक ठाउँबाट अर्को ठाउँमा जान सहज हुने कुरामा सरकारले सकारात्मक भएर सोच्ने उहाँले बताउनुभयो । 

आन्तरिक उडानमा स्वदेशी र विदेशी नागरिकलाई भाडादरमा समानता गर्ने विषयमा पनि मन्त्रालय सकारात्मक रहेको उहाँले बताउनुभयो । भाडादरका विषयमा अध्ययन गर्न कार्यदल नै गठन भएको उल्लेख गर्दै उहाँले कार्यदलको सुझावअनुसार वायु सेवा कम्पनीसँग सहमति गरेर एकरुपता ल्याउने प्रयास गरिने बताउनुभयो । 

नियमित उडानमार्फत विदेशमा अलपत्र नागरिकहरुलई भदौ १६ गतेबाट नियमित उडान मार्फत ल्याइने उहाँले बताउनुभयो । तत्काल दैनिक पाँच सयभन्दा नबढ्ने गरी अलपत्र नागरिकलाई स्वदेश ल्याउने उल्लेख गर्दै उहाँले यात्रुमा सङ्क्रमणको अवस्था न्यून देखिए र सरकारले बनाएको मापदण्ड पालना भए सङ्ख्या बढाइने बताउनुभयो । 

कोरोना महामारी सुरु भएपछि ५२ हजार नागरिकहरुलाई विभिन्न देशबाट नेपाल ल्याइएको उहाँले बताउनुभयो । झण्डै २० हजार यो अवधिमा नेपालबाहिर गएका छन् । चार्टर्ड उडान व्यवस्थित हुन नसकेको स्वीकार गर्दै मन्त्री भट्टराईले बाध्यतामा हुने उडानले गर्दा केही समस्या देखिएको बताउनुभयो । चार्टर्ड उडाहरुको सङ्ख्या घटाउँदै भदौ १६ गतेदेखि नियमित उडानको अभ्यास सुरु गर्न कार्यतालिका सार्वजनिक भएको उहाँले बताउनुभयो । त्यसपछि परिस्थिति हेरेर नियमित उडानको तयारी थालिने उहाँको भनाइ छ ।

नेपाल वायु सेवा निगमको कुल सम्पत्ति ५४ अर्ब १७ करोड रुपैयाँ रहेको उहाँले बताउनुभयो । निगमलाई उद्धृत गर्दै मन्त्री भट्टराईले निगम ४५ अर्ब ९४ करोड रुपैयाँ ऋणमा रहेको बताउनुभयो । 
उहाँले चिनियाँ जहाज नेपाली आकाशमा उडाउन उपयुक्त नदेखिएकाले ग्राउन्डेड गर्नुपरेको समेत बताउनुभएको छ । अनुदानमा प्राप्त भएका र निगमले खरिद गरेका जहाजको सम्पूर्ण पक्ष विश्लेषण गर्दा जहाज नेपाली आकाशमा उडाउन उपयुक्त नदेखिएको उहाँले बताउनुभयो । 
निगमले विभिन्न कमिटी बनाएर विमानको विषयमा अध्ययन गर्दा नेपाली आकाशमा उडाउन उपयुक्त नभएको निष्कर्ष निकालिएको उल्लेख गर्दै मन्त्री भट्टराईले त्यसको उपयुक्त विकल्प के हुन सक्छ भनेर अर्थ मन्त्रालयसँग राय मागिएको बताउनुभयो । 

चीनसँगको कुटनीतिक सम्बन्ध र नेपालले तिनुपर्ने बाँकी रकमलाई समेत मध्यनजर गर्दै अर्थ मन्त्रालयको राय आएपछि निर्णय हुने उहाँले बताउनुभयो ।
राष्ट्रिय गौरवको आयोजना निजगढ विमानस्थल निर्माणका लागि अहिलेसम्म ६० हजार रुखको गणना भइसकेको उहाँले बताउनुभयो । वन मन्त्रालयलगायतका निकायसँग समन्वय अभावले काम प्रभावित भएको उहाँले बताउनुभयो ।

पोखरा विमानस्थल तोकिएकै समय ३० जुन मा सम्पन्न हुने उहाँले बताउनुभयो । भैरहवा विमानस्थलमा कोरोनाका कारण कामदार आउन नसक्दा समस्या भएको उहाँको भनाइ छ ।

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया