कुलमानको कार्यकाल थप्नेबारे प्रस्ताव नै थिएन, कसरी फैलियो हल्ला ?

 भदौ ९, २०७७ मंगलबार २०:२५:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

सामाजिक सञ्जाल

काठमाण्डाै – मङ्गलबार बेलुका पाँच बजेपछि सामाजिक सञ्जालमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल थप भएको बारे निकै हल्ला भयो । मन्त्रिपरिषद्को बैठकले कुलमान घिसिङको कार्यकाल चार वर्ष थपेको भन्दै ट्विटर र फेसबुकमा बधाई दिनेको ओइराे लाग्यो । प्रतिष्ठित व्यक्तिहरुले पनि कुलमानलाई बधाई दिइरहेका थिए । केही सञ्चारमाध्यमले पनि घिसिङको कार्यकाल थप भनेर समाचार लेखे । 

तर कुलमान घिसिङलाई विद्युत् प्राधिकरणमा दोहोर्‍याउनेबारे मङ्गलबारको मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव नै पुगेको थिएन । कुलमानको विषय मन्त्रिपरिषद्काे आजको एजेन्डा नै थिएन । २९ गते कार्यकाल सकिने कुलमानको बारेमा मन्त्रिपरिषदमा प्रस्ताव नै नजाँदै समय थपिएको खबर भाइरल भएपछि मन्त्रीहरु नै छक्क परेका छन् । 

‘लिखित रुपमा आज प्रस्ताव नै आएको छैन, प्रधानमन्त्रीबाट सिधै प्रस्ताव आएमा निर्णय हुन सक्थ्यो, उहाँको कार्यकाल अझै बाँकी छ तर विभागीय मन्त्रीले नै प्रस्ताव नल्याउनु भएकाले सिधै निर्णयको सम्भावना भएन’, एक मन्त्रीले उज्यालो अनलाइनसँग भने ।

कुलमान घिसिङको कार्यकाल भदौ २९ गते सकिँदैछ । भदौ २१ गतेअघि नै कार्यकाल सकिन लागेका अर्थ मन्त्री डाक्टर युवराज खतिवडाको निर्णय नगरेको सरकार २९ गते कार्यकाल सकिने घिसिङको कार्यकाल थप्ने हतारोमा छैन । हरेक हप्ता दुई वटा मन्त्रिपरिषद्का बैठक बस्छन्, यस हिसाबले २९ गतेसम्म ६ वटा मन्त्रिपरषद्का नियमित बैठक नै बस्ने छन् । ६ वटा बैठकअघि नै कुलमानको बारेमा नियुक्ति गर्न सरकारलाई कुनै हतारो नै देखिन्न । 

कसरी फैलियो हल्ला ?

यही भदौ २९ गते चार वर्षे कार्यकाल सकिन लागेका घिसिङलाई फेरि प्राधिकरणमै नेतृत्व दिनुपर्छ भन्ने आवाज बढ्दै गएको छ । सामाजिक सञ्जालमा पनि चर्को माग छ । हरिवंश आचार्य, मनोज गजुरेल, करिश्मा मानन्धरलगायतका कलाकारले सामाजिक सञ्जालबाटै कुलमानको कार्यकाल थप्न माग गरिरहेका थिए । मङ्गलबार दिउँसो यस्ता खबरले पनि निकै स्थान पाए । 

तर कुलमानलाई मन्त्रिपरिषद्ले दोहोर्‍याएकाे खबरको सुरु गरेका थिए हास्य कलाकार दीपकराज गिरीले । उनले फेसबुकमा लेखेका थिए, ‘आज बसेको मन्त्रिपरिषद् बैठकले कुलमान घिसिङलाई नै विद्युत् प्राधिकरणको प्रमुख पदमा निरन्तरता दिने निर्णय गरेको छ । सरकारसँग यस्तै आसयकाे समाचार प्रेसित गरेर जनताकै पक्षमा उभिनुकाे विकल्प छैन।’  

दीपकराजको यो स्टाटस फैलिन समय लागेन । फेसबुकदेखि ट्विटरसम्म उनकै स्टाटस शेयर र स्क्रिनशर्टसहित फैलाउने काम भयो । दीपकराजकै स्टाटसलाई आधार मानेर सामाजिक सञ्जालमा कुलमानको नियुक्ति दोहोरिएको विषय भाइरल भयो । उनको स्टाटसमा ११ हजारभन्दा धेरैले लाइक गरेका छन्, ११ सय जनाको कमेन्ट रहेको छ ।

यस्तै ट्विटरमा कुलमान घिसिङको नक्कली ट्वीट ह्याण्डलबाट पनि यो विषय भाइरल बन्यो । नेकपाको विद्यार्थी सङ्गठनका सहसंयोजक रञ्जित तामाङले नै कुलमानको नक्कली ह्याण्डलबाट गरिएको ट्वीट रिट्वीट गरेर बधाई दिएका थिए । 

अन्तिम अपडेट: माघ २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

7 Comments

  • प्रदीप श्री

    Aug. 26, 2020, 4:55 p.m.

    कलाकारको फेसबुकमा लेखिएको आशयलाइ विषेश महत्वको साथमा प्रकाशन गर्ने बिभिन्न संचार माध्यमका पत्रकार ज्यु कि त सरकारले झुठको खेति गरेकोमा कार्बाही गरी सरकारको उपस्थितिको भान दियोस् कि कुलमानकलाइ पुनः नियुक्ति दिइ ईमान्दारिताको सम्मान गरोस् |

  •  0 Reply
  • जनक मान डङ्गोल

    Aug. 26, 2020, 10:02 a.m.

    नेपाल हल्लैहल्लाको देश हो भनेर त्यसै कविता जन्मेको हैन, तर राम्रो काम गर्नेलाई अर्को मौका दिनु पर्छ !

  •  0 Reply
  • Dev

    Aug. 25, 2020, 11 p.m.

    यो हल्ला होइन, चाहना हो नागरिकको !

  •  0 Reply
  • शंकर राइ

    Aug. 25, 2020, 10:49 p.m.

    जोकरको काम जगत हँसाउनु वाहेक अरु के नै हुन्छ र ? अव यसको नाटक सकियो !

  •  0 Reply
  • eknarayan

    Aug. 25, 2020, 10:05 p.m.

    बिचारका लागि अायल निगम दिन सक्छ त याे सरकारले कुलमानलाई, याे पनि अखडा त हाे नि बदमासहरुकाे / तर म ढुक्क छु त्यहाँ पठाए पनि परिवर्तन अवश्य हुनेछ ।

  •  0 Reply
  • बाबु राम श्रेष्ठ

    Aug. 25, 2020, 10:01 p.m.

    हल्ला होइन यो साचो हुनु पर्छ यदि केपि ओलि बहादुर मन्त्री भए

  •  0 Reply
  • Ramesh Mohan Adhikari

    Aug. 25, 2020, 9:16 p.m.

    यसको अर्थ हो, नागरिकहरू कुलमानको कार्यकाल थपिएको सुन्न चाहन्छन् ।

  •  0 Reply

तपाईको प्रतिक्रिया