शुभमन गिल बने एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो २५०० रन बनाउ...
माघ ३०, २०८१ बुधबार
काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नाे पुनर्नियुक्तिकाे विषयलाई लिएर भइरहेका गतिविधिप्रति ध्यानाकर्षण भएकाे बताउनुभएकाे छ ।
बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै उहाँले आफ्नाे पुनर्नियुक्तिकाे विषयमा केही दिनदेखि विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएकाे भ्रामक सूचना तथा समाचारप्रति गम्भीर भएकाे बताउनुभएकाे हाे ।
उहाँले आफ्नाे गलत एकाउन्ट नै खाेलेर प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जा मन्त्री वर्षमान पुनलाई जाेडेर आधार र तथ्यहीन सूचना सम्प्रेषण नगरिदिन अनुराेध गर्नुभएकाे छ ।
साथै उहाँले लाेडशेडिङकाे अन्त्य गरी उज्यालाे नेपाल बनाउन प्रधानमन्त्री, ऊर्जा मन्त्री, कर्मचारी र उपभाेक्ताकाे सहयाेग नपाएकाे भए एक जनाकाे प्रयासबाट सम्भव नहुने बताउनुभएकाे छ ।
साथै उहाँले नेपाल सरकारकाे नीति तथा कार्यक्रमको कार्यान्वयन गर्न प्राधिकरण निरन्तर क्रियाशील रहेको समेत जानकारी दिनुभयाे ।
यस्ताे छ प्रेस नाेट–
नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७३ भदौ २९को निर्णयबाट मलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा ४ वर्षका लागि नियुक्त गरेको थियो ।
मेरो ४ वर्षे कार्यकाल सकिनै लाग्दा अर्को कार्यकालका लागि पुनर्नियुक्तिको विषयलाई लिएर सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यू र ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री माननीय श्री वर्षमान पुनज्यूलाई जोडेर बिगत केही दिनदेखि विभिन्न संचार माध्यम, सामाजिक संजाल र मेरो गलत एकाउन्ट खडा गरी सम्प्रेषण भइरहेका भ्रामक समाचार तथा सूचनाप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।
मेरो अर्को कार्यकालको पुनर्नियुक्तिका विषयलाई लिएर सम्मानीय प्रधानमन्त्री, माननीय ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री र मलाई जोडेर आधार तथा तथ्यहीन गलत सूचना तथा समाचार सम्प्रेषण नगरिदिनु हुन अनुरोध गर्दछु ।
नेपाल विद्युत प्राधिकरण नेपाल सरकारको पूर्ण स्वामित्वको संस्था भएकाले सम्माननीय प्रधानमन्त्री नेतृत्वको सरकारको निर्देशन एवं मार्गदर्शन र निती तथा कार्यक्रमको प्रभावकारी कार्यन्वयन मार्फत यस अवधिमा केही उल्लेखनीय उपलब्धीहरु हासिल भएका छन् ।
लोडसेडिङको अन्त्य गरी उज्यालो नेपाल बनाउन, वित्तीय तथा प्रशासनिक सुधार गरी प्राधिकरणलाई नाफामूलक, सबल, सक्षम तथा प्रतिश्पर्धी संस्था बनाउन सम्माननीय प्रधानमन्त्री र माननीय ऊर्जा मन्त्रीको निर्देशन एवं मार्गदर्शन, प्रशासनिक संयन्त्र, अहोरात्र खटिने कर्मचारीहरु र आम उपभोक्ताको निरन्तरको सहयोग र हौसला नपाएको भए एकजना व्यक्तिको प्रयासबाट मात्रै लोडसेडिङको अन्त्य, संस्थालाई मुनाफामा लैजाने लगायतका उपलब्धीहरु हासिल गर्न सम्भव थिएन ।
सबै नेपालीको घरमा उज्यालो पुर्याउने, ऊर्जा खपत बढाउने, उपभोक्तालाई गुणस्तरीय, भरपर्दो तथा पर्याप्त विद्युत् उपलब्ध गराउने, प्राधिकरणभित्र सुशासन कायम गर्दै प्रभावकारी सेवा संचालन गर्न प्रणालीलाई स्वचालित र डिजिटलाईजेसन गर्ने, नेपालको पानी जनताको लगानी हरेक घर विद्युतको शेयरधनी कार्यक्रमको प्रभाकारी कार्यन्वयन गर्ने, ठूला जलविद्युत तथा प्रसारण लाईन आयोजनाहरुको निर्माण गर्ने लगायतका नेपाल सरकारका निती तथा कार्यक्रमको कार्यान्वयन गर्न प्राधिकरण निरन्तर क्रियाशील रहेको समेत जानकारी गराउँदछु ।
कुलमान घिसिङ
कार्यकारी निर्देशक
नेपाल विद्युत प्राधिकरण
दरबारमार्ग, काठमाडौं ।
मिति : २०७७/०५/११ बिहीबार
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।