डब्ल्यूएचओको निर्देशिकालाई मानेर मात्रै हुँदैन, सङ्क्रमणको अवस्थाबारे पनि थाहा हुनुपर्छ ’

 भदौ १५, २०७७ सोमबार १२:१४:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - जनस्वास्थ्य विद्हरुले विश्व स्वास्थ्य संगठनको निर्देशिका र तथ्याङ्कअनुसार मात्रै कोरोना सङ्क्रमणबारे निर्णय गरेर सरकारले गलत गरेको बताएका छन् । 

अहिले सरकारले विश्व स्वास्थ्य संगठनको निर्देशिकालाई आधार बनाएर मात्रै निर्णयहरु गरिरहेको पाइएको भन्दै जनस्वास्थ्य विद्हरुले त्यसो गर्न नहुने बताएका हुन् । 

नेपालमा कोरोना सङ्क्रमणको अवस्था कुन चरणमा पुगेको छ भन्ने अध्ययन नै नगरी डब्ल्यूएचओको निर्देशिका अनुसार मात्रै निर्देशित हुँदा थप समस्या हुने जन स्वास्थ्यविद् डाक्टर समिरमणि दीक्षितको भनाइ छ ।

उज्यालोसँग कुरा गर्दै उहाँले डब्ल्यूएचओको निर्देशिकाअनुसार भन्दै लक्षण नभएका कोरोना सङ्क्रमितलाई १४ दिनपछि परीक्षण नै नगरी डिस्चार्ज गर्ने सरकारको निर्णय गलत रहेको बताउनुभएको छ । सरकारको यो निर्णयले सङ्क्रमित व्यक्तिलाई समाजमा निर्बाध हिँड्न दिने मौका दिएको उहाँको भनाइ छ । विश्व स्वास्थ्य संगठनका अनुसार १४ दिनपछि कोरोना सङ्क्रमण शरीरबाट निष्क्रिय हुन थाल्छ । 

१० दिनपछि कुनै पनि सङ्क्रमितबाट सङ्क्रमण अरु व्यक्तिमा सर्दैन भन्ने तथ्य डब्ल्यूएचओले पेश गरेकोले त्यसैलाई आधार बनाएर त्यसमा ४ दिन थप गरी १४ दिनमा डिस्चार्ज गर्ने निर्णय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

साधारणतया १० दिनसम्म लक्षण छैन भने त्यस्ता व्यक्तिलाई डिस्चार्ज गर्न मिल्ने डब्ल्यूएचओलगायत अरु अन्तर्राष्ट्रिय संस्थाहरुले पनि भनेकाले त्यसैको आधारमा निर्णय भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर बासुदेव पाण्डेले बताउनुभयो । 

यदि सङ्क्रमितमा लक्षण छैन र १४ दिनपछि सङ्क्रमण देखियो भने पनि त्यस्ता व्यक्तिबाट कोरोना सर्ने सम्भावना निक्कै कम रहने मशाहाखाका निर्देशक डाक्टर पाण्डेले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया